असनको काखमा इन्द्रेणी रङको सौन्दर्य
साँघुरा गल्लीहरूमा आज
आकाश झरेको छ
सिन्दूर र अबिरको वर्षा बनेर
अनुहारहरू राताम्य छन्,
जमिन, भित्ता, ढुङ्गाका छेउछाउ
सबै रङले लेखिएको एउटा जीवित चित्रजस्तै।
हिँड्दा लाग्छ- आकाश र धरती जोडेर
आँखा सामुन्ने इन्द्रेणी फैँलिन्छ,
हातले छोइन्छ रङको स्पन्दन,
तिर्खालु आँखाले पिउँछ
घटघटी उज्यालोको सौन्दर्य !
देवीहरूको ढोगभेट र खट जात्रासँगै
सामुन्ने मान्छेहरू आज दर्शक छैनन्
उनीहरू स्वयं उत्सव बनेका हुन्छन्
कसैको निधारमा टाँसिएको रातो टीका,
कसैको गालामा उडेको अबिर,
र, भित्रभित्रै एउटा निश्छल हाँसो
सिलसिलाबद्ध यी सबै मिलेर
एकै धुनको जीवन गाउँछन्
चटामरी, लावा, अबिरको वर्षा
परापूर्व कालदेखिको हार्दिकपन
असन चोकमा प्रदर्शित हुन्छन् ।
झल्लरी छाताको रोमाञ्चक नृत्यमञ्चन
बाजा गुञ्जिन्छ, ध्वनि-तरङ्ग फैलिन्छ
ढोल-झ्याम्टाको तालमा
समयको नाडी हल्लिन्छ,
खुट्टाहरू आफैँ नाच्न थाल्छन्,
शरीरहरू लयको अधीनमा
फुक्काफकिर स्वतन्त्र हुन्छन् ।
त्यहाँ कोही ठूला हुँदैनन्,
कोही साना रहँदैनन्
सिन्दूरले सबैको पहिचान मेटेर
एउटै रङमा लेखिदिएको हुन्छ
मानवताको पहिचान !
हाँसोका तरङ्गहरू
हावामा उडिरहेका हुन्छन्,
अदृश्य प्रेमिल स्पर्शहरू
मनहरूलाई बाँधिरहेका हुन्छन्
कसैले नदेख्ने तर
सबैले महसुस गर्ने
एकताको त्यो सुगन्ध
त्यही नै हो- असनको वास्तविक आरती !
चारै दिशाबाट वर्षदिनपछि
भेला भएका दिदीबहिनी देवीहरूको
अपूर्व मिलन !
यहाँ परम्परा
पुस्तकको पानामा बन्द हुँदैन,
यो त धड्किरहेको हुन्छ
हरेक गुठियारको मुटुमा
हरेक छातीभित्र,
हरेक पाइला,
हरेक रङको उडानमा ।
रङहरू विस्तारै मेटिन्छन्,
भीड आफ्नै बाटोतिर फर्किन्छ,
गल्लीहरू फेरि सामान्य हुन्छन्
तर मनभित्र कतै कुनामा
केही नमेटिने रेखाहरू बाँकी रहन्छन् ।
सायद,
त्यहीँ कतै लुकेको हुन्छ
एकताको अमिट छाप
जुन वर्षौँपछि पनि
असनको त्यो दिन सम्झँदा
मनभरि फेरि
इन्द्रेणी रङको सौन्दर्यले
घ्वाप्लाक्क अंगाल्न आउँछ
र, मायाको मिठो आभास छोडेर जान्छ ।
