पुरस्कारका लागि प्रतिभा प्रतिष्ठानद्वारा कृतिहरू आह्वान

विराटनगर । मोफसलकै पहिलो निजी पुरस्कार प्रतिष्ठानको रूपमा स्थापित विराटनगरको प्रतिभा पुरस्कार प्रतिष्ठानले यस वर्ष प्रदान गरिने विभिन्न पुरस्कारका लागि स्रष्टाहरूबाट कृति आह्वान गरेको छ।

प्रतिष्ठानले ‘प्रतिभा पुरस्कार’ (राष्ट्रिय कृति पुरस्कार) र ‘षडानन्द प्रतिभा पुरस्कार’ (कोशी प्रदेश स्तरीय कृति पुरस्कार) प्रयोजनका लागि २०८२ सालभित्र प्रकाशित भएका कृतिहरू माग गरेको हो।

साहित्यकारद्वय डा. नरेन्द्र चापागाईं र दधिराज सुवेदीद्वारा २०३९ सालमा स्थापित यस प्रतिष्ठानले नेपाली भाषा, साहित्य, धर्म र संस्कृतिको उत्थानमा क्रियाशील स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको छ।

इच्छुक लेखक तथा प्रकाशकहरूले आगामी २०८३ साल वैशाख मसान्तसम्ममा आफ्ना कृतिका ४/४ प्रति प्रतिष्ठानको विराटनगर-३, गोधूलिमार्गस्थित कार्यालयमा प्राप्त हुने गरी पठाइसक्नुपर्ने प्रतिष्ठानले बताएको छ।

पुस्तक पठाउँदा लेखकले कुन विधा वा पुरस्कारका लागि कृति पठाएको हो सो स्पष्ट खुलाई आफ्नो ठेगाना, इमेल र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।

प्रतिष्ठानले प्रत्येक वर्ष असार २९ गते भानु जयन्तीको विशेष अवसरमा योगदान र कृतिको मूल्याङ्कनका आधारमा ६ वटा विभिन्न श्रेणीका पुरस्कारहरू समर्पण गर्दै आएको छ।

यस वर्ष प्रदान गरिने पुरस्कारहरूमा ५० हजार रुपैयाँ राशिका चारवटा पुरस्कारहरू रहेका छन्। जसमा ‘प्रतिभा पुरस्कार’, ‘लीलानाथ-विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’, ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ र ‘दीनबन्धु-उषादेवी गोयल प्रतिभा पुरस्कार’ रहेका छन्। त्यसैगरी २५ हजार रुपैयाँ राशिका ‘षडानन्द प्रतिभा पुरस्कार’ र ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’ समेत प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ।

स्थापनाकालदेखि हालसम्म ११८ जना विशिष्ट स्रष्टा र संस्थालाई सम्मानित गरिसकेको यस प्रतिष्ठानमा ४१ जना संरक्षक र ४०० भन्दा बढी आजीवन सदस्यहरू आबद्ध छन्। प्रतिष्ठानले पुरस्कारका अतिरिक्त हालसम्म ५ दर्जनभन्दा बढी साहित्यिक कृतिहरू समेत प्रकाशन गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *