ज्योतिष र धर्मशास्त्र : अधुरो ज्ञानले विवाद निम्त्याउने खतरा
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘ज्योतिष दिवस समारोह-२०८२’ लाई सम्बोधन गर्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिषका विषयमा बोल्दा समाजमा भ्रम र विवाद उत्पन्न हुनेतर्फ सचेत गराए।
पछिल्लो समय विषयवस्तुको गहिराइ नबुझी सार्वजनिक रूपमा धारणा राख्ने प्रवृत्ति बढेकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘धर्मशास्त्रको मर्म नजानी ज्योतिषीले बोल्दा अनेकौँ आपत्ति र विवाद आइपर्छन्, आजका दिनमा पनि धेरै कुराहरू नबुझेरै बोलिरहेका पाइन्छन्,’ भट्टराईले भने। उनले ज्योतिषी, पण्डित र धर्मशास्त्रका विज्ञहरूबीच आपसी समन्वय र एउटै धारणा हुनुपर्नेमा जोड दिए।
सोही अवसरमा समितिका पूर्वनिर्देशक पण्डित सूर्यप्रसाद ढुङ्गेलले आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै परम्परागत ज्ञान र अध्ययनप्रतिको रुचि घट्दै गएको बताए। उनले आफ्नै क्षमता अभिवृद्धिमा ध्यान नदिँदा र गहिरो अध्ययनको अभावका कारण सेवाग्राही तथा उपभोक्ताहरू समेत मर्कामा परिरहेको उल्लेख गरे।
ढुङ्गेलले वर्तमान समयमा धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै ज्योतिषीहरूले आफ्नो जिम्मेवारी बुझेर क्षमता बढाउनुपर्ने औँल्याए। ज्योतिषशास्त्रको गरिमा जोगाउन र परम्परागत मूल्य–मान्यताको रक्षाका लागि विज्ञहरूले एकीकृत र विचारपूर्ण ढङ्गले अघि बढ्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो।
