‘नयाँ दल मात्तिनु हुँदैन, पुराना आत्तिनु पर्दैन’
मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन्।
निर्वाचन हुने–नहुने भन्ने संशयका बीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा सन्तोष मिलेको देखिन्छ। निर्वाचन गराउने दायित्व पूरा गर्दाका चुनौती र पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीसँग गरिएको संवादको सम्पादित अंश :
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो, कस्तो महसुस भइरहेको छ ?
मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन। तर देशको चिन्ता सबैलाई थियो। एउटा अनिश्चयका बीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो। मुलुकको भलाइ चाहने सबै खुसी छन्, म पनि खुसी छु। सरकारलाई दिइएको जिम्मेवारी समयमै पूरा गर्न सक्यौँ, यसले आनन्द महसुस गराएको छ।
विषम परिस्थिति र ‘जेनजी’ आन्दोलनपछिको चुनौतीलाई कसरी सम्झनुहुन्छ ?
मैले नेतृत्व लिँदा धेरै चुनौती थिए। समय जम्मा छ महिनाको थियो। सिङ्गै पुराना दलहरू हाम्रा विरुद्ध उभिए। ‘जेनजी’ भन्नेहरूले तुरुन्तै छोड पनि भने। त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए। विदेशी नियोगका प्रतिनिधिले पनि ‘सम्भव छ र ?’ भन्थे। हाम्रो पछाडि ठुलो सङ्गठन थिएन। त्यसमाथि ‘महिला’ भनेर टिप्पणी पनि गरिए। तर मैले एक कानले सुनेँ, अर्को कानले उडाइदिएँ र आफ्नो काममा लागेँ।
नेतृत्व गर्ने आँट र भरोसा कहाँबाट आयो ?
म सक्छु भन्ने आत्मविश्वास मनभित्रैबाट आयो। प्रधानमन्त्री हुनुअघि मैले आफ्नै क्षमता अन्दाज गरेको रहेनछु। मेरो तागत १६ देखि १८ वर्षको युवाको जस्तो रहेछ। पत्रपत्रिकामा जताततै आलोचना आउँदा पनि मेरो रक्तचाप बढ्नुको सट्टा घट्दै आयो, डाक्टर नै छक्क परे। मलाई सानैदेखि आँट गरे जे पनि गर्न सकिन्छ भन्ने सिकाइएको थियो। मैले धेरैपटक भगवान्लाई गुहारेँ— नेपालीले कहिलेसम्म ज्यान फाल्ने ? अब देशलाई त्राण देऊ भनेर प्रार्थना गरेँ। प्रकृतिले पनि साथ दियो, निर्वाचनको दिन मौसम राम्रो भयो।
कठिन मोडमा ‘अब सक्दिनँ’ भन्ने कहिल्यै लागेन ?
त्यस्तो पटक-पटक लाग्यो। आन्दोलनका सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयाघात नै होला जस्तो भयो। कसैले ‘यसलाई असफल बनाएर आफैँ प्रधानमन्त्री बन्छु’ भन्थे, कसैले अपशब्द बोले। मलाई अहिले पनि प्रधानन्यायाधीश भन्न नै मनपर्छ। तर मानिसलाई प्रधानमन्त्री पदमा ठुलो आकर्षण हुने रहेछ। जति आलोचना गरे पनि मलाई केही फरक परेन।
निर्वाचन हुनेमा कुन बिन्दुबाट ढुक्क हुनुभयो ?
भदौ २७ मा मेरो नियुक्ति भयो, २९ गतेदेखि नै आयोगले काम सुरु गर्यो। हामीले पहिला सहिद परिवारको समस्यामा ध्यान दियौँ। छिमेकी मुलुकहरूसँग सहयोग माग्यौँ। भारत र चीनबाट गाडी लगायतका सहयोग प्राप्त भयो। जेनजीका २१-२२ वटा समूह थिए, सबैका कुरा सुन्नुपर्थ्यो। पुराना दल निर्वाचन मात्र गर भन्थे, जेनजीहरू सबै काम गर भन्थे। हामी त ताईमा फुलौरा उफ्रिए जस्तो भयौँ। तर अथक प्रयासले निर्वाचन गराएरै छाड्यौँ।
यो सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन आयुक्तको योगदान इतिहासले बिर्सने छैन। मन्त्रिमण्डलमा गृहमन्त्री ओमप्रकाश अर्यालले दिनरात मेहनत गरे। चारवटै सुरक्षा निकायका प्रमुखहरूको भूमिका महत्त्वपूर्ण रह्यो। मेरो सचिवालयका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले मलाई सफल बनाउन ठुलो गुन लगाएका छन्। आदर्शको त ७५ प्रतिशत हात छ भन्छु म।
सचिवालयको विवाद र ‘नेपोटिज्म’को आरोपबारे के भन्नुहुन्छ ?
म ७३ वर्षको उमेरमा प्रधानमन्त्री भएँ। मलाई घरायसी सहयोगका लागि केही चिनेजानेका नेवार समुदायका मान्छे राखेको थिएँ। त्यसलाई ‘नेपोटिज्म’ भनियो। अन्य प्रधानमन्त्रीले ९० जनासम्म राख्दा केही भएन, मलाई भने आक्रमण गरियो। त्यसपछि मैले आफैँ खाना पकाएर पनि खाएँ। मलाई सिधै प्रहार गर्न नसकेपछि सचिवालयलाई निशाना बनाइएको थियो।
नयाँ दलको विजय र पुरानाको हारलाई कसरी हेर्नुहुन्छ ?
यो परिवर्तनको चाहना र युवाको मत हो। नयाँले मात्तिनु पर्दैन, पुरानाले आत्तिनु पर्दैन। ओलीजी हार्नुहोला भन्ने मैले सोचेको थिइनँ, तर जनताको मतलाई सम्मान गर्नुपर्छ। रास्वपाले पाएको मतको कदर हुनुपर्छ। जित्नेले हार्नेलाई बेवास्ता गर्नुहुँदैन। राजनीति भनेको सेवा हो, भारतमा इन्दिरा गान्धीले पनि हारेर पछि जितेकै हुन्। अहिले एउटा लहर आएको छ, भोलि अर्को आउन सक्छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणमा के-के काम भए ?
हामीले अनावश्यक खर्च कटौती गर्यौँ। मैले र केही मन्त्रीले तलब लिएनौँ। ३२ अर्बमा निर्वाचन सम्पन्न भयो, जुन निकै मितव्ययी हो। कर्मचारी नियुक्ति र बढुवामा ज्येष्ठतालाई आधार मान्यौँ। विश्वविद्यालयका नियुक्तिमा हस्तक्षेप गरेनौँ। अख्तियार, सिआइबी जस्ता संस्थालाई व्यावसायिक स्वतन्त्रता दियौँ। ४०-४५ वटा भ्रष्टाचारका मुद्दा यही सरकारका पालामा दर्ता भए। तर कर्मचारीतन्त्रमा अझै सुधार आवश्यक छ। त्यहाँ सचिवहरूले काम फनफनी घुमाउँदा रहेछन्।
अबको बाँकी जीवन कसरी बित्छ ?
मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पूरा गरेँ। अब म पुरानै निजी दैनिकीमा फर्किन्छु। राष्ट्रपति हुने मेरो कुनै मोह छैन। मभन्दा लायक मान्छे अरू पनि हुनुहुन्छ।
नयाँ सरकारलाई के सन्देश दिनुहुन्छ ?
नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीलाई प्राथमिकता दिनुपर्छ। सिंहदरबारभित्रको कर्मचारीतन्त्रमा सुधार नगरेसम्म देश बन्दैन। विदेशमा नेपाली बाकसमा फर्किनुपर्ने अवस्था अन्त्य होस्। बालेनको अभियानले हिमाल, पहाड र तराई एक भएको सन्देश दिएको छ, मलाई उनीप्रति विश्वास छ। (रासस)
