आख्यान साहित्यमा अब्बल ध्रुवचन्द्र गौतम
नेपाली आख्यान साहित्यको विस्तीर्ण आकाशमा एक दीर्घकालीन, स्थिर र उज्यालो नक्षत्रजस्तै नाम हो- डा. ध्रुवचन्द्र गौतम। उनलाई देख्नु, उनीसँग बस्नु, उनका शब्दहरू सुन्नु भनेको केवल एउटा व्यक्तिसँग भेट हुनु होइन; त्यो नेपाली साहित्यको एउटा जीवित इतिहाससँग साक्षात्कार गर्नु हो। हाँसोको मिठाससँगै जीवनका उकाली र ओरालीका अनुभूतिमय शब्द-संसारमा सुसेलिँदै हिँड्नुका चुपचाप पहेलीहरू उनीसँगका संवादमा स्वतः खुल्छन्।
धेरै वर्षको अन्तरालपछि नेपाली आख्यान साहित्यका अग्रणी र अब्बल व्यक्तित्व डा. ध्रुवचन्द्र गौतमको निवास चुनदेवी मार्ग, महाराजगञ्ज पुग्दा मनमा एउटा अनौठो कम्पन थियो- मानौँ समयको एउटा पुरानो ढोका ढकढक्याउन लागिएको होस्। साहित्यकार मित्र रोशन थापा ‘नीरव’ सँगै हामीले ढोका ढकढक्यायौँ।
२०८२ साल फागुन १३ गते बुधबारको मध्याह्न हामी साहित्यिक संलापका साझा भावना साटासाट गर्दै थियौँ। उनका बोली र अनुभवी विचारका भाव-श्रवणमा आनन्दित भइरहेका थियौँ। ढोका खुल्यो, त्यससँगै खुल्यो स्मृति, शब्द र विचारहरूको एउटा विशाल संसार। उनीसँगको एकाध घण्टाको कुराकानी व्यर्थको समय खेर फाल्ने काम भएन। एउटा उपलब्धिमूलक समय–सोपानको साहित्यिक सौगात बोकेर हामी दुवै मित्र फर्कियौँ।
उनको अनुहारमा उमेरका रेखाहरू छन्, तर ती रेखाहरू थकानका होइनन्; ती त अनुभवका नदीहरूले कोरेका मानचित्र हुन्। आँखामा अझै चमक छ- जुन चमक सर्जनशील चेतनाको हो। उनको बोलीमा कुनै हतार छैन, कुनै आत्मप्रदर्शन छैन; बरु त्यहाँ गहिरो शान्ति छ, जसले शब्दहरूलाई वजन दिन्छ।
उनी भन्छन्-‘लेखन रोकिँदैन।’
लेखन उमेरसँग सम्झौता गर्दैन। लेखन जीवनको निरन्तरता हो। हामी जन्मनुभन्दा अघिदेखि उनले समयलाई देखिरहेका थिए। समाज, मानिस, संस्कार, विडम्बना, परिवर्तन– यी सबैलाई उनले शब्दमा उतार्दै आएका छन्। अहिले ८३ वर्ष प्रवेशको सङ्घारमा उभिँदा पनि उनको लेखन थाकेको छैन। बरु अझ परिपक्व, अझ मर्मस्पर्शी र अझै नवीन विचारसँग सशक्त बनेको छ।
उनीसँग बस्दा लाग्छ- उनी समयका यात्रु मात्र होइनन्, समयका साक्षी पनि हुन्। उनले देखेको नेपाल, उनले भोगेको सामाजिक रूपान्तरण, उनले लेखेका मानवीय द्वन्द्वहरू नेपाली समाजको सामूहिक प्रतिविम्ब हुन्। ती सबै समय र समाजको स्मृतिमा सुरक्षित छन्।
लेखकको घर पुस्तकमय हुनु स्वाभाविक हो। प्रत्येक क्षण तिनै किताब र कापी-कलमसँगको प्रेमपूर्ण साथ र सङ्गतले नै सिर्जनाका धारा प्रवाहित हुन्छन्। अतः घरभित्र पुस्तकहरूको सङ्कलनसँगै त्यसको मीठो सुगन्ध पनि छ। कागजका थुप्राहरूबीच अझै जन्मिन बाँकी कथाहरू सास फेरिरहेका छन्। कलम टेबलमा विश्राम गरिरहेको देखिए पनि त्यो विश्राम स्थायी होइन- त्यो अर्को सिर्जनाको तयारी हो।
उनीसँगको भेटले मनमा एउटा गहिरो विश्वास रोप्छ- सिर्जना उमेरले थाक्दैन, चिन्तन समयसँग हराउँदैन र सच्चा लेखक कहिल्यै अवकाशमा जाँदैन। फर्किँदा मध्यदिनको चर्को उज्यालो झन् कोमल भइसकेको थियो। तर मनभित्र एउटा उज्यालो थपिएको थियो- एक सर्जकको निरन्तरताले दिएको उज्यालो।
ध्रुवचन्द्र गौतमलाई भेट्नु भनेको एउटा व्यक्तिलाई भेट्नु मात्र होइन, शब्दहरूको एउटा अविरल नदीसँग भेट गर्नु हो- जुन नदी अझै शान्त, गम्भीर र अनन्त रूपमा बगिरहेकी छ।
गत २०७९ साल पुस ३ गते चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’ को उपाधिबाट सम्मान गरिएको थियो। अघिल्लो दिनको कान्तिपुर कोसेलीमा ‘म एक लथालिङ्गी’ शीर्षकमा उनको संस्मरण छापिएको थियो।
उनी लेख्छन्- ‘पुरस्कार-सम्मान पनि पाएकै छु जीवनमा। मबारे पुस्तक लेखिएका-लेखिँदै छन्, विद्यावारिधि गरिँदै छन्। कति सहृदयी संस्थाहरू छन्, जसले वीरगञ्ज र यहाँ पनि अभिनन्दन गरेकै छन्। केही समयपछि म जस्तै मेरो लेखन-यात्रा पनि सात दशक पुगेर आठौँमा प्रवेश गर्ने छ। मसी सुकेको छैन, म थाके पनि कलम थाक्न मानेको छैन। मेरो ८० वर्षे प्रवेशमा ‘आविष्कारी आख्यानका दशकहरू’ कृति आउने भएको छ।’
‘यसरी एउटा लेखक जसले जन्मँदा ‘खाट’ समेत पाएको थिएन, तैपनि यति सम्मान पाइरहेको छ भने अरू के चाहियो? तर, मान्छे आफू जत्रो भए पनि उसका चाहनाहरू अनन्त हुन्छन्। झन् लेखकका चाहनाका त के कुरा गर्नु?’ उनी अगाडि भन्छन्- ‘जति लेखे पनि लेख्न बाँकी रहन्छ। अहिल्यै भनिहालौँ- मान्छे जान्छ, तर लेखक बाँकी रहन्छ। म जाने छु तर मेरा लिखित-अलिखित कुराहरू रहिरहने छन्।’
उनका दाजु ध.च. गोतामे नेपाली नियात्रा र निबन्ध लेखनका आदरणीय सर्जक थिए। ‘लेख्नु भनेको मेरो लागि सास फेर्नु जस्तै हो’ भन्ने ध्रुवचन्द्र गौतम नेपाली आख्यान साहित्यका अग्रणी मानिन्छन्। उनी उपन्यास लेखनमा नयाँ प्रयोग गर्छन्। कल्पनाशीलताका साथै उनले धेरै उपन्यास र कथा लेखेका छन्। उनले आत्मकथा, अनुभवन्यास, नाटक-एकाङ्की, पटकथा, यात्रा संस्मरण, गीत, गजल आदि पनि प्रशस्तै लेखेका छन्।
यसका साथै उनले उहिल्यै रेडियो नेपालमा गीतसमेत गाएका छन्। अहिले पनि उनी गीत सुसेलेर मनको थकाइ मार्छन्। साङ्गीतिक गुञ्जनको आभास महसुस गर्दै सिर्जनात्मक नवीनताको दैलो खोल्छन्। उनी बहुआयामिक व्यक्तित्व हुन्। हरेक विधामा उनको उत्तिकै बलियो पकड छ। तथापि उनले उपन्यास विधामा विशिष्टता हासिल गरेका छन्। उनले ३२ वटा उपन्यास लेखिसकेका छन् भने हालसम्म उनका ५३ वटा कृति प्रकाशित छन्।
२०६४ सालमा ‘जर्मनी नयाँ आँगनमा पाइला टेक्दा’ र २०६७ मा ‘रूसतिर रुमलिँदा’, ‘घडीहरूको देशमा समय खोज्दै’ र ‘अमेरिकामा इन्द्रेणी’ नामक नियात्राका पुस्तकहरू पनि प्रकाशित छन्। २०२४ सालमै ‘अन्त्यपछि’ शीर्षकको उपन्यास प्रकाशित भएको थियो।
यसबाहेक बालुवामाथि, डापी, कट्टेल सरको चोटपटक, अलिखित, एक सहरमा एक कोठा, निमित्त नायक, स्व. हीरादेवीको खोज, फूलको आतङ्क, अग्निदत्त अग्निदत्त, उपसंहार अर्थात् चौथो अन्त्य, ज्यागा, बाढी, सहस्राब्दीको अन्तिम प्रेमकथा, तथाकथित, घुर्मी, जेलिएको, दुबिधा, देहमुक्त, एक असफल आख्यानको आरम्भ, अप्रिय, सातौँ ऋतु, एक पुनर्निर्मित प्रेमाख्यान, वञ्चक, एक आनाको जमाना, चकमन्नमा एकान्त, सातो उपन्यास प्रकाशित छन्।
ध्रुवचन्द्र गौतमले ‘अलिखित’ उपन्यासका लागि २०४० सालको मदन पुरस्कार पाएका थिए। त्यस्तै ‘स्व. हीरादेवीको खोज’का लागि २०४५ सालको नारायणी वाङ्मय पुरस्कार, ‘तथाकथित’ उपन्यासमा २०५९ सालको साझा पुरस्कार र २०७० सालमा पद्मश्री साधना सम्मान पाएका छन्। यसै वर्ष २०८२ सालमा काठमाडौँ महानगरपालिकाको वार्षिकोत्सवमा उनलाई नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप एक लाख नगदसहित सम्मान अर्पण गरिएको थियो।
