खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि, उपभोक्ता मारमा

काठमाडौँ। पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा नेपालमा खाना पकाउने तेलको भाउ एक महिनामै अस्वाभाविक रूपमा बढेको छ।

व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन्। माघ अन्तिम साता प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सनफ्लावर तेलको मूल्य फागुन मध्यसम्म आइपुग्दा २९० रुपैयाँभन्दा माथि पुगेको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने बजार मूल्यभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको बताए। लिमिटेडको विवरण अनुसार भटमासको तेल प्रतिलिटर २४०, सनफ्लावर २७५ र विभिन्न ब्रान्डका तोरीको तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन्। तर निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्य वृद्धि निकै उच्च देखिएको छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधलाई मुख्य कारण बताए। बाह्य मुलुकबाट हुने आयात प्रक्रियामा समस्या देखिएको र त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको उनको भनाइ छ।

अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकबाट कच्चा तेल बोकेर आउने जहाजहरू बाटोमै रोकिएको उनले जानकारी दिए। अग्रवालका अनुसार विश्व बजारमा डलरको भाउ बढेको र ढुवानी मार्ग अवरुद्ध हुँदा आपूर्तिमा अभाव सँगै ढुवानी खर्च समेत बढेको छ।

धान र चामल छिमेकी मुलुक भारतबाट सहजै आए पनि खानेतेलका लागि तेस्रो मुलुकमै भर पर्नुपर्ने बाध्यता रहेको अग्रवालले स्पष्ट पारे। अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धले ढुवानी सेवा प्रभावित हुँदा र कच्चा पदार्थ महँगो हुँदा नेपाली उपभोक्ताले सास्ती खेप्नुपरेको उनले बताए।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम तेल प्रतिटन ९५० देखि १ हजार डलर, सोयाबिन तेल ९८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल ९०० देखि ९५० डलर हाराहारीमा कारोबार भइरहेको छ।

नेपाल राष्ट्र बैंकको माघको तथ्याङ्कले पनि घ्यू तथा तेलको मूल्यमा ७.६१ प्रतिशतको वृद्धि भएको देखाएको छ भने फागुनमा यो दर अझै बढ्ने अनुमान छ। बजारमा खाने तेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी भएको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ।

विभागका निर्देशक नरहरि तिवारीले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *