मारिए इरानी ‘सर्वोच्च नेता’

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। राज्य नियन्त्रित टेलिभिजनका अनुसार खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरिएको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको बताएका थिए। अमेरिका र इजरायलले शनिबार इरानमाथि संयुक्त हमला गरेका थिए। सोही हमला खामेनीको निवासमा समेत भएको र सोही क्रममा उनको निधन भएको समाचारहरूमा उल्लेख छ।

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति सम्हाल्दै आएका खामेनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समय शासन गर्ने नेता हुन्। उनी मध्यपूर्वमै सबैभन्दा लामो समय पदमा रहने राष्ट्रप्रमुखका रूपमा चिनिन्थे।

आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला खामेनीले सन् १९७९ को इस्लामिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने तीन वर्ष निर्वासनमा बिताएका थिए।

सर्वोच्च नेता बन्नुअघि उनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। इरान–इराक युद्धका बेला देशको नेतृत्व गरेका खामेनीको इरानी सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर’ सँग बलियो सम्बन्ध रहेको थियो। उनलाई विश्व राजनीतिमा एक कट्टरपन्थी र ‘हार्डलाइनर’ नेताका रूपमा चिनिन्थ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *