इरानको विद्यालयमा हमला: ४० विद्यार्थीको मृत्यु

इजरायल र अमेरिकाले इरानमाथि सुरु गरेको संयुक्त सैन्य कारबाहीका क्रममा एक विद्यालयमा भीषण बमबारी भएको छ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायली हवाई आक्रमण हुँदा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ४० पुगेको छ।

इरानको सरकारी समाचार संस्था ‘आईआरएनए’ ले यो दुःखद घटनाको पुष्टि गर्दै मारिने सबै स-साना बालिकाहरू रहेको जनाएको छ।

सुरुमा समाचार संस्था अलजजिराले पाँच जनाको मृत्यु भएको बताए तापनि घाइतेहरूको मृत्यु हुने क्रम बढेसँगै यो सङ्ख्या ४० पुगेको हो। शिक्षा क्षेत्र र बालबालिका लक्षित यो आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा गम्भीर प्रश्न उठ्न थालेको छ।

यसैबीच, इरानको राजधानी तेहरानसहित देशका विभिन्न प्रमुख सहरहरूमा शक्तिशाली विस्फोटका आवाजहरू निरन्तर सुनिएका छन्।

इजरायली र अमेरिकी सेनाले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई समेत मुख्य निशाना बनाएको खबरहरू सार्वजनिक भएका छन्।

यी उच्च सुरक्षा क्षेत्रहरूमा भएका आक्रमणले इरानको राजनीतिक नेतृत्वलाई नै अस्थिर बनाउने प्रयास गरिएको देखिन्छ।

युद्धको यो भयावह रूपले मध्यपूर्वमा मानवीय सङ्कट निम्त्याउने निश्चित छ। इरानले आफ्ना निर्दोष बालबालिकाको ज्यान लिएको बदलामा इजरायल र अमेरिकी सैन्य अखडाहरूमा थप कडा प्रहार गर्ने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *