द्वन्द्वले मध्यपूर्व क्षेत्रमा तनाव

अमेरिका र इजरायलले इरानमाथि शनिबार बिहान संयुक्त हवाई आक्रमण गरेपछि मध्यपूर्वको आकाश युद्धको धुवाँले भरिएको छ।

यस आक्रमणको केही घण्टाभित्रै इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी भीषण जवाफी कारबाही सुरु गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी, बहराइन, कतार र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूमा दर्जनौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इरानी सेनाको ‘रिभोलुसनरी गार्ड्स’ ले यो आक्रमण केवल सुरुवात भएको र आक्रमणकारीहरूलाई आफ्नो कदममाथि पछुतो हुने गरी थप ठूला प्रहारहरू गर्ने चेतावनी दिएको छ।

बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालय नजिकै ठूला विस्फोटहरू भएका छन् भने कतारको वायु रक्षा प्रणालीले आफ्नो आकाशमा केही मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ। यो घटनाले खाडी क्षेत्रमा रहेका अन्य देशहरूलाई पनि युद्धको चपेटामा ल्याउने जोखिम बढाएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले इरानको यो कदमको कडा निन्दा गर्दै आफ्ना सैनिकहरूको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएको छ।

इजरायलले पनि आफ्नो सुरक्षा सतर्कतालाई ‘रेड अलर्ट’ को अवस्थामा राखेको छ। युद्ध थप फैलन सक्ने डरले विश्व बजारमा इन्धनको मूल्य बढ्न थालेको छ भने धेरै देशहरूले आफ्ना नागरिकलाई मध्यपूर्व नजान भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *