‘संविधान रक्षा र विकास नै मुख्य अठोट’

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला घरदैलो अभियानमा व्यस्त छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता कोइरालाले आफ्नो निर्वाचन क्षेत्रको विकास मात्र नभई संविधान र लोकतन्त्रको रक्षालाई मुख्य एजेन्डा बनाएका छन्।

देशैभर कांग्रेसप्रति मतदाताको आकर्षण बढेको दाबी गर्ने कोइरालाले मतदातालाई निकै सुझबुझका साथ मतदान गर्न आग्रह गरेका छन्। प्रस्तुत छ, कोइरालाले सार्वजनिक गरेको ‘अठोटपत्र’ र मोरङ-६ को विकास निर्माणमा केन्द्रित रहेर गरिएको कुराकानीको सार:

८ बुँदे अठोट पत्रको मुख्य सार के हो?

मेरो अठोट पत्र केवल औपचारिक दस्तावेज होइन, यो मोरङ–६ र देशको भविष्यप्रतिको जिम्मेवारीबोध हो। यसमा पूर्वाधार विकास, शिक्षा–स्वास्थ्यमा सुधार, कृषिको आधुनिकीकरण, उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, सुशासन तथा संविधान र लोकतन्त्रको रक्षा जस्ता विषय समेटिएका छन्। यो जनतासँग गरिएको मेरो पवित्र वाचा हो।

मोरङ-६ को विकासका लागि प्राथमिकता के हुन्छ?

मेरो पहिलो प्राथमिकता पूर्वाधार र रोजगारी नै हो। सडक, खानेपानी, स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नति जस्ता आधारभूत कामलाई तीव्रता दिइनेछ। साथै, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने मेरो स्पष्ट योजना छ।

मुलुकको आर्थिक विकासका लागि योजना के छ?

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध हुँदैन। कृषि, पर्यटन, ऊर्जा र साना उद्योगमा लगानी बढाउनुपर्छ। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै पारदर्शी नीतिगत वातावरण बनाउनु आवश्यक छ। आयातमा भर पर्ने अर्थतन्त्रलाई निर्यातमुखी बनाउने दीर्घकालीन रणनीति जरुरी छ।

रोजगारी सिर्जनाका लागि ठोस योजना?

युवालाई सीप, प्रविधि र लगानीसँग जोड्नु नै यसको समाधान हो। प्राविधिक शिक्षाको विस्तार, स्टार्टअप कोषको स्थापना र कृषि तथा उद्योगमा आधारित रोजगारीका कार्यक्रम ल्याउने मेरो अठोट छ। युवाहरूको विदेश पलायन रोक्न देशमै अवसर सिर्जना गर्नुपर्छ।

मोरङ-६ लाई औद्योगिक केन्द्र बनाउने कुरा कत्तिको सम्भव छ?

यो क्षेत्र ऐतिहासिक रूपमा औद्योगिक सम्भावना बोकेको भूगोल हो। लगानीमैत्री वातावरण, कर सहुलियत र पूर्वाधार विकासमार्फत निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ। उद्योग बढेपछि रोजगारी स्वतः सिर्जना हुन्छ र स्थानीय अर्थतन्त्र बलियो बन्छ।

संविधान र लोकतन्त्रको रक्षा किन अहिले विशेष मुद्दा बनेको हो?

संविधान जनआन्दोलनको बलिदानबाट प्राप्त उपलब्धि हो। अहिले विभिन्न कोणबाट संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाइँदैछ। त्यसैले संसदमा सशक्त आवाज आवश्यक छ, जसले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरोस्। अधिकार, स्वतन्त्रता र समावेशिताको रक्षाका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ।

‘अबको नेपाल’ कस्तो हुनुपर्छ?

अबको नेपाल आत्मनिर्भर र अवसरयुक्त हुनुपर्छ। युवाले देशमै भविष्य देख्ने, किसानले उत्पादनको उचित मूल्य पाउने र नागरिकले गुणस्तरीय सेवा पाउने नेपाल नै मेरो परिकल्पना हो।

तपाईंको अठोट पत्र अन्य उम्मेदवारको भन्दा कसरी फरक छ?

मेरो प्रतिबद्धता भाषणमा मात्र सीमित छैन। विगतको अनुभव, नीति निर्माणमा मेरो संलग्नता र विकासप्रतिको स्पष्ट दृष्टिकोणले यसलाई कार्यान्वयनयोग्य बनाउँछ। म परिणाम दिने नेतृत्वमा विश्वास गर्छु।

युवालाई के सन्देश दिन चाहनुहुन्छ?

तपाईंहरू नै परिवर्तनका वाहक हुनुहुन्छ। राजनीतिलाई दोष मात्र नदिनुहोस्, सक्रिय सहभागिता जनाउनुहोस्। म युवाको ऊर्जालाई नीतिमा रूपान्तरण गर्न प्रतिबद्ध छु। विदेश पलायन समाधान होइन, अवसर यहीँ सिर्जना गर्नुपर्छ। सीप विकास र सूचना प्रविधिमा लगानी गरेर युवालाई आफ्नै माटोमा भविष्य देखाउने मेरो संकल्प छ।

घरदैलोमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

जनताबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु। उहाँहरूमा स्थिरता, विकास र इमानदार नेतृत्वप्रति ठुलो आशा छ। त्यो विश्वासलाई परिणाममा बदल्नु मेरो दायित्व हो। यतिबेला कांग्रेस पूर्ण रूपमा चलायमान भएको छ। भातृ संगठनदेखि क्रियाशील सदस्यसम्म अहोरात्र खटिएका छन्। सबैको सक्रियताले परिणाम कांग्रेसको पक्षमा आउनेमा म ढुक्क छु। मोरङ–६ मा मात्र होइन, देशैभरि कांग्रेसप्रति आम मतदाताको विश्वास बढेको पाएको छु।

निर्वाचनप्रति मतदाता उत्साहित छन्?

विशेष राजनीतिक परिस्थितिले यो निर्वाचन हुन लागेको हो। यसले नै मुलुकलाई राजनीतिक निकास दिन्छ र संविधानलाई सही बाटोमा ल्याउँछ। मतदाताले यो कुरा बुझ्नुभएको छ। सुरुमा केही अन्योल देखिए पनि अहिले सबै मतदाता फागुन २१ गतेलाई कुरेर बसेका छन्। असल जनप्रतिनिधि छान्न उनीहरू आतुर छन्। ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएको कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ भन्नेमा आम नागरिक विश्वस्त छन्।

यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, भविष्यको दिशा तय गर्ने अवसर हो। मोरङ–६ को विकास, संविधानको रक्षा र समृद्ध नेपालका लागि म तपाईंहरूको साथ र मतको अपेक्षा गर्छु। म वाचा मात्र होइन, काम गर्ने अठोटका साथ तपाईंहरूमाझ आएको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *