यो वर्ष विश्वका ८५ प्रतिशत शिशु एसिया र अफ्रिकामा जन्मने
संयुक्त राष्ट्रसङ्घको पछिल्लो जनसंख्या प्रक्षेपणअनुसार सन् २०२६ मा विश्वभर जन्मने कुल शिशुमध्ये ८५ प्रतिशत एसिया र अफ्रिका महादेशका हुने देखिएको छ।
‘भिजुअल क्यापिटलिस्ट’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वको जनसाङ्ख्यिकीय सन्तुलनमा यी दुई महादेशको भूमिका सबैभन्दा महत्वपूर्ण रहनेछ।
तथ्याङ्कअनुसार सन् २०२६ मा एसियामा मात्रै करिब ६ करोड ४९ लाख शिशुको जन्म हुने अनुमान गरिएको छ, जुन विश्वभरिको कुल जन्मको ४९ प्रतिशत हो।
चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा प्रजनन दरमा उल्लेख्य गिरावट आए पनि समग्र एसियाको विशाल जनसंख्याका कारण यहाँ जन्मने शिशुहरूको संख्या उच्च देखिएको हो।
यसैगरी अफ्रिका महादेशमा सन् २०२६ मा ४ करोड ७६ लाख शिशु जन्मने प्रक्षेपण गरिएको छ, जसले विश्वको कुल जन्मको ३५.९ प्रतिशत हिस्सा ओगट्छ।
अफ्रिकामा उच्च प्रजनन दर र युवा जनसंख्याको बाहुल्य रहेका कारण यो संख्या बढ्दो क्रममा छ।
अर्कोतर्फ विकसित क्षेत्रहरूमा भने शिशु जन्मको दर निकै कम रहने देखिएको छ। ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा ७ प्रतिशत, युरोपमा ४.६ प्रतिशत, उत्तर अमेरिकामा ३ प्रतिशत र ओशिनियामा मात्र ०.५ प्रतिशत शिशुको जन्म हुने अनुमान छ।
यसले भविष्यमा पश्चिमी देशहरूमा जनसंख्या घट्ने र एसिया तथा अफ्रिकाले विश्व श्रम बजार र उपभोक्ता बजारमा प्रभुत्व जमाउने संकेत गरेको छ।
