हाम्रो पात्रोले ल्यायो भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’
काठमाडौं। नेपालको चर्चित सुपर एप हाम्रो पात्रोले डिजिटल सञ्चारलाई थप सहज र सुरक्षित बनाउन नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले कुनै छुट्टै एप डाउनलोड नगरी हाम्रो पात्रो एपभित्रैबाट उच्च गुणस्तरको भिडियो बैठक सञ्चालन गर्न सक्नेछन्।
यो सेवा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। प्रयोगकर्ताले हाम्रो पात्रोको मेनु वा साइडबारबाट यसको प्रयोग गर्न सक्छन्। यसको मुख्य विशेषता भनेको अन्य प्लेटफर्म जस्तो समयको सीमा नहुनु हो, जसले गर्दा प्रयोगकर्ताले असीमित समयसम्म छलफल गर्न पाउनेछन्। बैठकमा सहभागी हुन कुनै झन्झटिलो लगइन प्रक्रिया आवश्यक पर्दैन; आयोजकले पठाएको लिङ्कमा क्लिक गरेर सिधै प्रवेश गर्न सकिन्छ।
सुरक्षाका लागि आयोजक (Host) लाई सहभागीको भिडियो वा अडियो नियन्त्रण गर्ने र आवश्यक परे हटाउने सुविधा दिइएको छ। डेस्कटप प्रयोगकर्ताका लागि कम्पनीले chautari.hamropatro.com मार्फत वेब संस्करण पनि उपलब्ध गराएको छ।
हाम्रो पात्रोकी डाइरेक्टर सुदिना गौतमले नेपाली प्रयोगकर्तालाई स्वदेशी र भरपर्दो डिजिटल विकल्प दिने उद्देश्यले यो सेवा ल्याइएको बताइन्। उनले भनिन्, “हामी यसलाई अझ परिष्कृत गर्दै लैजानेछौँ। चाँडै नै मिटिङ सेड्युलिङ, डकुमेन्ट सेयरिङ र फेसबुक तथा युट्युबमा सिधै लाइभ स्ट्रिमिङ गर्न मिल्ने सुविधाहरू थपिनेछन्।” अनलाइन कक्षा, अफिसियल बैठक र पारिवारिक कुराकानीका लागि यो सेवा उपयोगी हुने कम्पनीको विश्वास छ।
