बयरका फाइदै फाइदा: योगी सोमराजजीका टिप्स
काठमाडौं। हाल बयरको मौसम चलिरहेको छ। शिवजीको अत्यन्तै प्रिय फलका रूपमा चिनिने बयरको वर्णन आयुर्वेददेखि साहित्यसम्म पाइन्छ। योगी सोमराजजी महाराजका अनुसार बयरले शरीरमा ‘वात’ र ‘पित्त’लाई सन्तुलनमा राख्न मद्दत गर्छ। कम पानी र हेरचाहबिनै फल्ने यो काँडेदार रूखको फल स्वास्थ्यका लागि निकै लाभकारी मानिन्छ।
बयरमा भिटामिन ए, सी, क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ। यसलाई पोलेर खाँदा खोकी निको हुन्छ भने यसको जराको रसले गाँठिएको बाथमा औषधिको काम गर्छ।
बयरको सेवनले कब्जियत हटाउने, भोक जगाउने र ग्यास्ट्रिक कम गर्न मद्दत पुर्याउँछ। यसमा हुने एन्टिअक्सिडेन्ट्सले मुटुलाई स्वस्थ राख्छ भने बीउ सहित खाँदा मानसिक तनाव र अनिद्रा कम हुने योगी सोमराजजी बताउँछन्।
बयरको पात पनि उत्तिकै उपयोगी छ, जसमा ६१ प्रकारका पोषक तत्व पाइन्छ। यसको लेपले दाद, एलर्जी र कपाल झर्ने समस्यामा राहत दिन्छ। मधुमेहका रोगी र पायल्स (बाबासीर) भएकाहरूका लागि यसको पातको रस अमृतसमान मानिन्छ। साथै, पात उमालेको पानीले कुल्ला गर्दा मुखको घाउ र गिजा सुन्निने समस्या समाधान हुन्छ।
बयर धेरै खाएमा पेट दुख्न सक्छ। मधुमेह र दीर्घ रोगीहरूले यसको सेवन गर्दा मात्रामा ध्यान दिनुपर्छ। संस्कृतमा ‘बदरी फल’, हिन्दीमा ‘बेर’ र अङ्ग्रेजीमा ‘Indian Jujube’ भनिने यो फलको ऐतिहासिक र धार्मिक महत्त्व पनि ठूलो छ। महर्षि वेदव्यासले बदरिकाश्रममा बयर खाएरै तपस्या गरेको प्रसंगले यसको पौराणिक महिमा झल्काउँछ।
