झापा गोल्डकप: फाइनल प्रवेशका लागि आज आर्मी र मछिन्द्र भिड्दै

बिर्तामोड। सातौँ झापा गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे सुरु हुने यस खेलले फागुन ४ गते हुने फाइनलमा प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ । आजको खेल जित्ने टोलीले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ ।

मछिन्द्र फुटबल क्लब अनुभवी प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा मैदान उत्रँदैछ भने आर्मीसँग पुराना र राष्ट्रिय टोलीका युवा खेलाडीहरूको समिश्रण रहेको छ ।

आर्मीले यसअघि चर्च ब्वाइज युनाइटेड र लालीगुराँस एसोसिएसन पोखरालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अर्कोतर्फ, मछिन्द्रले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

खेल हेर्न आउने दर्शकहरूका लागि महेन्द्ररत्न स्टोर्सले दैनिक एकथान टेलिभिजन र उपहार योजना अन्तर्गत फाइनलमा एकजना भाग्यशाली दर्शकलाई स्कुटर प्रदान गर्ने व्यवस्था गरेको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *