झापा गोल्डकप: एपीएफ फाइनलमा
बिर्तामोड । टाइब्रेकरमा आयोजक झापा-११ लाई ४-२ गोल अन्तरले स्तब्ध पार्दै विभागीय टोली एपीएफ फुटबल क्लब झापामा जारी सातौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको स्थिति उल्टाउँदै एपीएफले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरे। एपीएफका नविन लामाको प्रहार भने झापाका गोलकिपरले रोकेका थिए।
झापाका लागि रोमन भुजेल र रोहन कार्कीले मात्र बललाई जाली चुमाउन सके। झापाका नारायण क्षेत्री र गौरव धिमालको प्रहारलाई एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका श्रेष्ठ नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २५ हजार प्राप्त गरे।
यसअघि खेलको ६१ औँ मिनेटमा रिचार्ड विल्सनको गोलमार्फत झापाले सुरुवाती अग्रता लिएको थियो। तर ६७ औँ मिनेटमा एपीएफका नविन लामाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। फाइनल यात्रासँगै एपीएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।
अब एपीएफले उपाधिका लागि शनिबार हुने त्रिभुवन आर्मी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग फागुन ४ गते प्रतिस्पर्धा गर्नेछ।
