झापा गोल्डकप : फाइनल पुग्न भिड्दै झापा ११ र एपीएफ

बिर्तामोड। सातौँ झापा गोल्डकप अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे सुरु हुने यस प्रतिस्पर्धामा आयोजक झापा ११ फुटबल क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ। आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउँदै कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ।

एपीएफ टोली अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको रणनीति र हरि कार्कीको कप्तानीमा मैदान उत्रिनेछ। टोलीमा प्रदीप लामा, युवराज खड्का, बुद्धिमान राई र मणिकुमार लामा जस्ता प्रभावशाली खेलाडी छन्। कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन्। एपिएफले क्वार्टरफाइनलमा भुटानको रोयल थिम्पु कलेजलाई ४-१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

यता आयोजक झापा ११ लाई स्थानीय दर्शकको ठूलो समर्थन रहनेछ। प्रशान्त लक्समको कप्तानीमा रहेको झापामा राष्ट्रिय टोलीका सदस्य रोहण कार्की, समीर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र दुई विदेशी खेलाडी समावेश छन्। झापाले पुलिस क्लबलाई २-० ले र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराएर अन्तिम चारमा स्थान बनाएको हो।

प्रतियोगितामा दर्शकहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। महेन्द्ररत्न स्टोर्सले दैनिक एक जना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ भने फाइनलको दिन टिकट काट्नेमध्ये एक भाग्यशालीले यामाहा स्कुटर प्राप्त गर्नेछन्। गोल्डकपको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल तथा विधागत उत्कृष्टलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। फाइनल खेल आगामी फागुन ४ गते हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *