मलेसियन क्लबलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

बिर्तामोड । राष्ट्रिय खेलाडीहरूको वर्चस्व रहेको मछिन्द्र फुटबल क्लब झापामा जारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब सेमिफाइनलमा मछिन्द्रको भेट अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग हुनेछ ।

खेलको १९ औँ मिनेटमा सनिश श्रेष्ठको गोलमार्फत मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । मलेसियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्दै सनिशले गोल गरेका हुन् ।

६० औँ मिनेटमा मलेसियाका जोन जिडेइनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि ८० औँ मिनेटमा मछिन्द्रका विदेशी खेलाडी जोनाथन जोरिल्लाले निर्णायक गोल गरे । मलेसियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि पाएका थुप्रै अवसरलाई गोलमा परिणत गर्न सकेन ।

मछिन्द्रका जोनाथन जोरिल्ला खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मलेसियाका केही प्रहारहरू क्रसबारमा लागेर फर्किँदा र केही प्रहार गोलकिपर विशाल श्रेष्ठले रोक्दा मलेसियन टोली पहिलो खेलबाटै बाहिरिन पुगेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ । १५ लाख रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *