नेपाल इटलीसँग १० विकेटले पराजित, ब्याटिङ-बलिङ दुवैमा निरीह

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले स्तब्ध भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा निरीह देखिएपछि नेपालले विश्वकप इतिहासमै पहिलो पटक १० विकेटको हार व्यहोर्नु परेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा मात्र १२३ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रनको योगदान दिए ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ र करण केसीले अविजित १८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । इटलीका स्पिनरहरू नेपाली ब्याटरमाथि पूर्ण रूपमा हाबी भए, जसमा क्रिसन कालुगमागेले ३ र बेन्जामिन मानेन्टीले २ विकेट लिए ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटलीले मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई जित हासिल गर्यो । इटलीका लागि मोस्का दाजुभाई एन्थोनी र जस्टिनले विष्फोटक ब्याटिङ गर्दै शतकीय साझेदारी गरे ।

दुवैले ११औँ ओभरमा आ-आफ्नो अर्धशतक पूरा गरेका थिए । विश्वकपमा डेब्यु गरिरहेको इटलीका लागि यो ऐतिहासिक पहिलो जित हो ।

लगातार दोस्रो हारसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपाल बलियो टोली इंग्ल्याण्डसँग मात्र ४ रनले पराजित भएको थियो ।

पहिलो खेलमा देखाएको जुझारु प्रदर्शन इटली विरुद्ध दोहोर्‍याउन नसक्दा नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *