६ महानगरमध्ये विराटनगर अब्बल, काठमाडौँ सबैभन्दा कमजोर

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार देशका ६ वटा महानगरपालिकामध्ये मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ।

आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर तयार पारेको रिपोर्टमा विराटनगरले ७८.११ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

यसअघि लगातार तीन वर्षसम्म उत्कृष्ट हुँदै आएको भरतपुर महानगरपालिकालाई पछि पार्दै विराटनगरले यो सफलता हात पारेको हो । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिका भने सबैभन्दा कमजोर देखिएको छ ।

काठमाडौँले ४४.९७ अङ्क मात्र प्राप्त गरेर छैटौँ स्थानमा चित्त बुझाएको छ । आयोगले स्थानीय तहको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता, राजस्व परिचालन र सेवा प्रवाह जस्ता पक्षहरूलाई मुख्य आधार बनाएर यो अङ्क प्रदान गरेको हो ।

आयोगको प्रतिवेदन अनुसार दोस्रो स्थानमा रहेको ललितपुर महानगरपालिकाले ७६.३३ अङ्क पाएको छ भने भरतपुर ६८.०४ अङ्कका साथ तेस्रो स्थानमा खुम्चिएको छ ।

यस्तै, ५८.०४ अङ्क ल्याएर पोखरा महानगरपालिका चौथो स्थानमा रहँदा वीरगञ्ज महानगरपालिकाले ५४ अङ्क प्राप्त गर्दै पाँचौँ स्थान सुरक्षित गरेको छ ।

यस मूल्याङ्कनमा प्राप्त अङ्ककै आधारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदानको आकार तय हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *