विश्वकप: इटलीविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज भइरहेको समूह ‘सी’ को खेलमा नेपालले इटलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मुम्बईको वानखडे रङ्गशालामा भएको टसमा इटलीका कार्यवाहक कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपाली टोलीमा एक महत्त्वपूर्ण परिवर्तन गरिएको छ । तीव्र गतिका बलर शेर मल्लको स्थानमा स्पिनर ललित राजवंशीलाई टोलीमा स्थान दिइएको छ । यो ललितका लागि विश्वकपमा पहिलो डेब्यू खेल समेत हो । यसअघिको संस्करणमा टोलीमा रहे पनि उनले मैदानमा उत्रिने अवसर पाएका थिएनन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल बलियो टोली इङ्गल्यान्डसँग मात्र ४ रनको झिनो अन्तरले पराजित भएको थियो । यस्तै इटली पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको थियो । त्यसैले आज दुवै टोली पहिलो जित निकाल्दै अङ्क तालिकामा खाता खोल्ने दाउमा छन् ।
अहिले मुम्बईको मैदानमा नेपाली ओपनरहरू कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ सुरु गर्दैछन् । नेपाली टोलीमा कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।
