एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड। बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको क्वार्टर फाइनल खेलमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ को फराकिलो अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो।
एपीएफको जितमा कप्तान हरि कार्कीले सानदार ह्याट्रिक गरे। खेलको छैटौँ मिनेटमा प्रदिप लामाले करिब ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि एपीएफले सुरुवाती अग्रता लिएको थियो।
त्यसपछि कप्तान हरिले खेलको १८औँ र २२औँ मिनेटमा लगातार गोल गर्दै टोलीलाई ३-० को बलियो स्थितिमा पुर्याए।
खेलको ८३औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन्।
भुटानका लागि किन्जाङ तेन्जिङ शेर्पाले ७९औँ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए। एपीएफले खेल अवधिभर आक्रामक खेल प्रस्तुत गर्दा भुटानी टोली रक्षात्मक देखिएको थियो। खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै हरि कार्कीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत बिहीबार मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङबीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ। १५ लाख रुपैयाँ पुरस्कार राशीको यस प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ।
आयोजकले दर्शकका लागि स्कुटर र टेलिभिजन जस्ता उपहारको समेत व्यवस्था गरेको छ।
