झापा ११ को कठिन जित, सेमिफाइनलमा प्रवेश
बिर्तामोड । आयोजक झापा-११ फुटबल क्लबले सातौँ झापा गोल्डकपमा कठिन जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।
झापाको बिर्तामोडमा भएको पहिलो क्वार्टर फाइनल खेलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै झापाले अघिल्लो चरणको यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गरे।
सिङलिङका लागि सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले जाली चुमाए पनि सुजन सुब्बाको प्रहार झापाका गोलकिपरले रोकेका थिए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो।
खेल अवधिभर झापाले विपक्षी टोलीमाथि निरन्तर दबाब सिर्जना गरे पनि गोल गर्न भने सकेन। झापाका ओलावाले अफिज र समिर तामाङका सुन्दर प्रहारहरूलाई विपक्षी गोलकिपरले विफल पारिदिएका थिए। सिङलिङका कप्तान उत्तम राईले पनि गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए।
उत्कृष्ट प्रदर्शन गरेका झापाका गोलकिपर विवेक मगर ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। भोलि मंगलबार दोस्रो क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन पोखराबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताए।
