नयाँ नेतृत्वको उदय र जापानको राजनीतिक पाठ

नयाँ विकल्प बाहिरै खोज्नुपर्छ भन्ने छैन, पुरानाले आफ्नै गल्तीबाट सिक्दै जड कार्यशैली तोड्दा त्यहीँबाट पनि नयाँ नेतृत्व जन्मिन सक्छ भन्ने स्पष्ट प्रमाण आजको जापानको चुनावी नतिजा बनेको छ।

इतिहास हेर्ने हो भने जापानी राजनीतिले समय-समयमा फरक र बलिया नेताहरू जन्माएको छ। आधुनिक विकसित जापानको चर्चा गर्दा तानाका काकुएई, कोइजुमी जुनइचिरो, आबे सिन्जो र आजकी सानाए ताकाइची जस्ता नामहरू केवल व्यक्ति मात्र नभएर युगका प्रतीकका रूपमा आउँछन्।

दोस्रो विश्वयुद्धको ध्वंसपछि तानाकाले विकासलाई भाषा बनाए भने कोइजुमीले पुराना संरचना तोडेर लोकप्रियता कमाए। आबे सिन्जोको ‘आबेनोमिक्स’ ले जापानलाई एउटा गति दियो, जसको उत्तराधिकारीका रूपमा अहिले सानाए ताकाइची दुई-तिहाइ बहुमतका साथ प्रधानमन्त्रीको रूपमा उभिएकी छन्। जापानी राजनीति केवल सत्ता परिवर्तन मात्र होइन, यो आप्रवासी जीवनको प्रत्यक्ष प्रभाव पनि हो।

ताकाइचीमा तानाकाको जस्तो ‘विकास सञ्जाल’ वा कोइजुमीको जस्तो ‘जनभावना’ मा नाच्ने शैली नभए पनि आबे लाइनको कडा स्पष्टता र राष्ट्रिय सुरक्षामा कडा अडान छ। प्रतिकूल मौसम र छोटो समयको चुनौतीका बाबजुद उनले प्राप्त गरेको यो जनादेश उनको निर्णायक राजनीतिक चरित्रको जित हो।

यसपटकको चुनावमा विपक्षी गठबन्धनको असफलता पनि उत्तिकै चर्चामा छ। उदार तथा प्रगतिशील विचारधारा बोकेको रिक्केन र धार्मिक आधार भएको व्यवहारिक केन्द्र कोमेइतोबीचको अप्राकृतिक गठबन्धनलाई मतदाताले रुचाएनन्। तेल र पानी जस्तो नमिल्ने विचारधाराको यो मिलनलाई जनताले नीतिगत एकता नभई केवल चुनावी गणितको रूपमा बुझे।

“लिबरल डेमोक्रेटिक पार्टी बाहेक” भन्ने नाराले मात्र विकल्प दिन नसकेको र स्पष्ट एजेन्डाको अभावले गर्दा कोमेइतोको आफ्नै कोर भोट समेत कमजोर देखियो। रिक्केनको शहरी बौद्धिक समर्थन भए पनि ग्राउन्ड-लेभलको संगठन कमजोर हुँदा यो गठबन्धन असफल हुन पुग्यो।

नेपालको सन्दर्भमा राणाशासनदेखि गणतन्त्रसम्म आइपुग्दा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको तीतो यथार्थ छ। निकास दिन नसकेको वर्तमान अवस्थालाई ‘जेनजी’ आन्दोलनले हल्लाउने प्रयास गरे पनि त्यसमा विभिन्न स्वार्थ समूहको घुसपैठले अन्योल सिर्जना गरेको छ।

समाधान केवल झगडामा होइन, स्पष्ट जनादेशमा हुन्छ। यदि जनताले एउटा शक्तिलाई स्पष्ट जिम्मेवारी दिन सक्दैनन् भने त्यसपछिका गुनासाहरूको कुनै अर्थ रहँदैन। राज्य सञ्चालन स्वस्थ बनाउन शरीरलाई जस्तै सबै प्रकारका भिटामिन र सन्तुलन आवश्यक पर्ने कुरा जापानको यो चुनावी नतिजाले सिकाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *