ओली-बालेन वाकयुद्ध

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा ‘भद्र’ बहसबाट मोडिएर गम्भीर व्यक्तिगत र राजनीतिक आरोप-प्रत्यारोपको चरणमा प्रवेश गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) का लागि दिएको निम्तोलाई उनका मुख्य प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन) ले ‘हत्याराको मतियारसँग एउटै मञ्चमा नबस्ने’ भन्दै अस्वीकार गरिदिएपछि राजनीति थप गर्माएको छ।

बहसबाटै श्रेष्ठता सावित गर्ने रणनीति आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले आफूलाई ‘देश बनाउने शक्ति’ र विपक्षीलाई ‘देश जलाउने शक्ति’ का रूपमा चित्रण गरे। उनले सामाजिक सञ्जालका प्रचारले वास्तविक चरित्र लुकाएको भन्दै प्रधानमन्त्रीका दावेदारहरूबीच खुल्ला मञ्चमा एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे बहस गर्न आयोजकहरूलाई आग्रह गरे। ओलीको यो प्रस्तावलाई धेरैले आफ्नो वाकपटुतामार्फत नयाँ उम्मेदवारहरूलाई ‘अपरिपक्व’ देखाउने रणनीतिका रूपमा बुझेका थिए।

बहस बहिष्कार र गम्भीर आरोप ओलीको प्रस्ताव सार्वजनिक भएको केही समयमै रास्वपा नेता बालेन शाहले सामाजिक सञ्जालमै टिप्पणी गर्दै ओलीमाथि गम्भीर प्रहार गरे। बालेनले ओलीलाई ‘आतङ्कवादी’ र ‘७६ जना बच्चाको हत्याराको मतियार’ को आरोप लगाउँदै ओलीसँग एउटै मञ्चमा उभिनु भनेको अपराधमा सामेल हुनु जस्तै भएको उल्लेख गरे। बालेनको यो टिप्पणीले चुनावी माहौललाई एकाएक तताइदिएको छ।

बालेनले लेखेका छन्- “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। त्योपछि अरू कुरा गरौँला।” यो भनाइले बालेन अब चुनावी एजेन्डामा मात्र सीमित नभई ओलीको राजनीतिक विगत र उनको कार्यशैलीमाथि सिधै आक्रमण गर्ने मुडमा रहेको प्रष्ट पार्छ।

मधेश र युवाको आक्रोशबीच थपिएको नयाँ मोड यसअघि नै ओलीले दमक र मधेशको तुलना गर्दै दिएको ‘गुइँठा’ टिप्पणीका कारण मधेशमा उनको पुत्ला दहन भइरहेको छ। ओलीको उक्त ‘छुच्चो’ बोलीले एमालेलाई रक्षात्मक बनाइरहेका बेला बालेनको यो पछिल्लो ‘बहिष्कार’ ले ओलीको ‘पब्लिक डिबेट’ गर्ने र आफूलाई उच्च देखाउने योजनामा ठूलो धक्का पुर्‍याएको छ।

संवादहीनता र ध्रुवीकरणको जोखिम ओलीले एजेन्डामा आधारित बहसको कुरा गरिरहँदा बालेनले भने नैतिकता र विगतका घटनालाई लिएर ओलीसँग संवाद नै नगर्ने अडान लिएका छन्। झापा-५ को यो प्रतिस्पर्धा अब केवल विकास र एजेन्डाको लडाइँ रहेन, यो ‘विगतको हिसाब-किताब’ र ‘प्रतिष्ठा’ को महासंग्राम बनेको छ। बालेनको यो आक्रामक शैलीले उनका समर्थकलाई उत्साहित बनाए पनि चुनावी मैदानमा यसले कस्तो चुनावी समीकरण बनाउँछ, त्यो भने हेर्न बाँकी नै छ।

पब्लिक डिबेटको लागि तयार छौं : ओली

नयाँ/पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ : बालेन

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

बालेनले अगाडि थपेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । त्योपछि अरू कुरा गरौँला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *