बीपी कोइराला: चिन्तन र व्यक्तित्वको संगम

भेटघाटमा गफगाफ चलेका बेला धेरै साथीहरू, खासगरी युवा साथीहरू जसले भौतिक स्वरूपमा बीपी कोइरालालाई देख्न पाएनन्, प्रश्न गर्छन्- बीपी कस्तो हुनुहुन्थ्यो? यस्ता प्रश्नमा उहाँको भौतिक स्वरूप अर्थात् जिउडाल, रूपरङ, स्वभाव, आनीबानीदेखि विशिष्ट बौद्धिक स्तरसम्म जान्ने इच्छा रहेको बुझिन्छ ।

बीपी अग्लो, पातलो र गोरो वर्णको सुन्दर रूप भएका आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँको चिउँडो र नाक सुहाउँदिलो लामो र निधार चौडा थियो । ओठ पातला थिए र तिनमा हरदम स्मित मुस्कान रहन्थ्यो । बोल्दा उहाँको वाणीसँगै सम्पूर्ण मुहार सक्रिय भएजस्तो लाग्थ्यो । उहाँका आँखा केही खोजिरहेका जस्ता चञ्चल, रहस्यपूर्ण र विशेष लाग्थे । बीपीका प्रकाशित डायरीहरूका स्केचहरूमा ओठ र आँखालाई कलाकारले उतार्न नसकेको जस्तो लाग्छ ।

उहाँलाई भेट्न जानेलाई बीपीले अधिकतर परैबाट हात जोडेर अभर पार्नुहुन्थ्यो । सामान्यतः नजिकै पुगेर अभिवादन गरिन्छ तर बीपीले परैबाट हात जोडेको देखेर आगन्तुक एक प्रकारले नर्भस जस्तो हुन्थे ।

बीपी घरमा खादीका सेता कुर्ता-सुरुवाल वा दौरा-सुरुवालमा रहनुहुन्थ्यो । सुरुवाल घुँडातिर रफु गरेको पनि हुन सक्थ्यो तर एकदम सफा । खुराक साधारण र थोरै । हमेसा हँसमुख र विनोदी पनि । पुस्तक पढ्नु उहाँको रुचि र लत पनि । पश्चिमबाट प्रकाशित नयाँ पुस्तक उहाँलाई उहाँका मित्रहरूले पठाइदिन्थे । भारत रहेका बखत कति भारतीय लेखक आफ्नो पुस्तक दिन स्वयं बीपीकहाँ पुग्थे । सुनेको- उहाँ ब्रह्ममुहूर्तमा बिस्तरामा बसेर लेख्ने गर्नुहुन्थ्यो । यो भयो संक्षेपमा बीपीको व्यक्तित्वको कुरा ।

बीपी सशक्त चिन्तक र त्यसको अनुसरणकर्ता समेत हुनुहुन्थ्यो । उहाँको चिन्तनको केन्द्रमा मानिस र उसको स्वतन्त्रता थियो । उहाँको व्यक्तित्वका तीन पाटा थिए- राजनीतिक, साहित्यिक र दार्शनिक । उहाँको दर्शनमा उच्च कोटीको अध्यात्म थियो र जीवनको लक्ष्य असल मानिस । उहाँका साहित्यिक कृति धेरै छन् र साहित्यप्रतिको उहाँको दृष्टिकोणका बारेमा प्रशस्तै लेखिएको छ । राजनीतिका बारेमा उहाँले लेखेको विषय विशेषमा केन्द्रित पुस्तक नभए पनि फुटकर लेखहरू प्रशस्त छन् । उहाँका प्रकाशित जेलडायरीहरूमा जीवन दर्शन र राजनीतिक प्रतिबद्धता साहित्यिक शैलीमा अभिव्यक्त भएको पाइन्छ ।

राजनीतिका विविध पाटालाई उजागर गर्ने लेख र डायरीका प्रसङ्ग तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उहाँले राखेका मन्तव्यले उहाँको राजनीतिक चिन्तनलाई राम्ररी उघारेको पाइन्छ । उहाँका बारेमा लेख्ने विद्वानहरूले उहाँको दार्शनिक पक्षको धेरथोर चर्चा गरेका छन् । बीपी मनसा, वाचा, कर्मणा क्रान्तिकारी हुनुहुन्थ्यो । बीपीको महानता भने पनि सफलता भने पनि उहाँको विचार र व्यवहारमा रहेको एकरूपता हो अर्थात् उहाँले जे बोल्नुभयो त्यही जिउनुभयो, जसका कारण उहाँले अकल्पनीय कष्ट वहन गर्नुपर्‍यो ।

पंक्तिकारले भारत निर्वासनमा रहेका बखत केभी दानी नाम गरेका एक पत्रकारसँग संगत गर्ने मौका पाएको थियो । उनका अनुसार उनी ग्वालियर स्टेटका महाराजाका शिक्षा सचिवका छोरा थिए । पचासको दशकमा वाणिज्य शास्त्रमा स्नातक गरेर भारतको केन्द्रीय राजस्व विभाग अन्तर्गत बम्बैमा आयकर अधिकृतको काम गरिरहेका बखतको विलासी जीवनबाट वाक्क भएर त्यसको घेराबाट निस्केर उनी यता पाँचथरमा शिक्षक हुन पुगेका थिए । सत्र सालको काण्डपछि उनी नेपाल बस्न सकेनन् र भारत फिरे ।

सत्तरीको दशकमा उनी बनारसबाट ‘स्पिटफायर’ नामक अंग्रेजी पाक्षिक पत्रिका प्रकाशन गर्थे । पाक्षिक भने पनि त्यो नियमित थिएन । उनी आफैँ यायावर जस्ता थिए । उनी आफैँ प्रकाशक आफैँ सम्पादक रहेको पत्रिका नियमित होस् पनि कसरी । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी नेपाल फिरेपछि उहाँमाथि लगाइएका सात मुद्दामध्ये एउटा त्यही स्पिटफायरमा प्रकाशित बीपीको एक लेखसँग सम्बन्धित थियो ।

एक पटक दानीले मलाई खर्साङको सन्त मेरी हिलमा अवस्थित शर्मा कटेज लगे । त्यस बेला आठ कोरी वर्ष पार गरिसकेकी अक्षरा शर्मा त्यस घरकी मुली थिइन् । उनी भारतीय स्वतन्त्रता सेनानी थिइन् भने नेपालको सात सालको क्रान्तिलाई सघाउन उनले आफ्ना साइँला र काइँला छोरा हरि र नारद शर्मालाई मेचीका क्रान्ति नायक नरेन्द्र बाँस्तोलाको जिम्मा लगाएकी थिइन् ।

अक्षराका अर्का छोरा (सायद जेठो) आईपी शर्मा ब्रिटिश भारतीय सेनाबाट अवकाश प्राप्त अधिकृत रहेछन् । उनीसँग दानीको राम्रो चिनजान रहेछ । हामी पुग्दा शर्मा आफ्नो अध्ययन कक्षमा बसेर केही लेख्दै रहेछन् । हामीलाई त्यही कक्षमा बसाले । मसँग चिनजान भयो । मध्याह्नपछिको खर्साङमा चिसो हुने नै भयो । शर्माजीले रम खाने प्रस्ताव गरे ।

दानी पिउनका सौखिन । बिस्तारै उनीहरूको संवादको भाषा नेपालीबाट अंग्रेजीतिर सर्दै गयो । उनीहरूको वार्ता बीपीको व्यक्तित्व केन्द्रित थियो, खासगरी साहित्यिक पाटाको । शर्माजी बीपीको उपन्यास ‘सुम्निमा’ लाई अंग्रेजीमा अनुवाद गर्दै रहेछन् । रमले रमरमाएका दानीले फ्याट्टै भने- तिमीले पार लगाउन नसक्ने काम थाल्यौ ।

शर्माजीले प्रतिवाद गरे- हेर्दै जाऊ न, म यसलाई कसरी सफल पार्छु । दानी झन् जङ्गिए- बीपी अंग्रेजीमा सोच्छन् र नेपालीमा लेख्छन् । यसरी तिम्रो भाषानुवाद नै प्रतिअनुवाद हुन पुग्छ अनि त्यसमा बीपीको भावनात्मक संवेदनशीलता र भाषाको लालित्यलाई तिमीले कसरी न्याय गर्छौ? लेखनीमा बीपीको बौद्धिकता भेटाउनु तिमी हामीका लागि उस्तो सहज कुरा होइन ।

दुई घण्टा जतिको बहसलाई बिसाएर फर्किँदा दानी बाटामा पनि बर्बराइरहेका थिए- यिनले दश मिनेट मात्रै बीपीका कुरा सुन्न पाए यिनको माथा पन्चर हुन्छ । बीपीले विश्व साहित्य खाएका मात्रै छैनन्, त्यसलाई उग्राई-उग्राई पचाएका पनि छन् ।

उनी भन्दै थिए- कस्तो दुर्भाग्य! बीपीलाई काम गर्नै दिएनन् । नेपालमा जन्मिनु नै बीपीका लागि अभिशाप भयो । उनी भन्दै गए- बीपीले निर्वाध काम गर्न पाएको भए नेपाल आज कहाँ पुग्ने थियो! बीपी विश्व राजनीतिक मञ्चमा सूर्य जसरी चम्किने थिए । सन् १९६० मा बीपीले संसारलाई नै चकित पार्दै इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना गरे । इजरायलमा भएको एउटा अन्तर्राष्ट्रिय गोष्ठी र कनासेटमा उनले दिएको मन्तव्य सुनेका एक भारतीय पत्रकारले भनेका थिए, “नेहरूपछि भारतलाई कुशल नेतृत्व दिन सक्ने मानिस मैले फेला पारेँ, तर दुर्भाग्यको कुरा- उनी नेपाली हुन्।”

बीपीले संयुक्त राष्ट्र संघको महासभामा चीनलाई सदस्यता दिनुपर्छ भनेर पेस गरेको दलिल अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो ।

दोस्रो विश्वयुद्धपछि बेलायतको पहलमा इजरायलमा यहुदीहरूलाई बसोबास गराइएपछि सन् १९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राज्य घोषित गरेको भए पनि त्यसलाई संसारले स्वतन्त्र राष्ट्रका रूपमा स्वीकार गरिरहेको थिएन । यस्तो वातावरणमा प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा नेपालले विश्वलाई नै आश्चर्यमा पार्दै जुन १, १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो ।

दौत्य सम्बन्ध स्थापना भएको अढाई महिनापछि १५ अगस्टका दिन इजरायलको सबैभन्दा ठुलो शहर तेलअभिभमा आयोजित ‘नवीन राष्ट्रहरूको प्रगतिमा विज्ञानको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा बीपीले सम्बोधन गर्नुभएको थियो । त्यही अवसरमा उहाँलाई त्यहाँको संसद ‘कनासेट’ लाई सम्बोधन गर्ने दुर्लभ अवसर समेत दिइएको थियो ।

समाचारमा आए अनुसार सम्मेलनलाई सम्बोधन गर्दै बीपीले भन्नुभएको थियो-

‘अफ्रिका र एशियाका अरू राष्ट्र जस्तो नेपालले साम्राज्यवाद र उपनिवेशको शिकार कहिल्यै हुनु परेन । ती देशहरूले त आफ्नो परिचय मात्र गुमाउनु परेको थिएन बाहिरिया शक्तिको कठोर मारमा समेत पर्नुपरेको थियो । नेपाल लगायत एशिया र अफ्रिकाका नयाँ लोकतान्त्रिक, सार्वभौम तथा स्वतन्त्र देशहरूले स्वतन्त्रता प्राप्त गरेपछि गरिबी जस्तो चुनौतीको सामना गर्नुपर्‍यो । यदि यी नयाँ लोकतान्त्रिक राष्ट्रहरू गरिबी हटाउन समयमै सफल भएनन् भने स्वतन्त्रता र सार्वभौमिकताको कुनै अर्थ रहँदैन । बरु अधिनायकवाद र साम्यवाद त्यस गरिबीमा फस्टाउनेछ । भन्नुहोला तेस्रो विश्वका नवीन राष्ट्रहरूले आफ्नो विकास अभियानमा लोकतन्त्रलाई समाहित गरेका छैनन् । यसले महत्वपूर्ण प्रश्नलाई जन्म दिन्छ- के लोकतान्त्रिक शासन प्रणाली विकासका लागि अनुकूल छ, कि विकासका लागि अधिनायकवाद नै आवश्यक हुन्छ?’

आफ्नो सम्बोधनमा बीपीले आफूहरू लोकतन्त्र तथा नागरिक हकको पक्षमा रहेको उल्लेख गर्दै गरिबीलाई परास्त गरेर राष्ट्रको विकास गर्न लोकतन्त्र नै उत्तम मार्ग हो भन्ने कुरामा जोड दिनुभएको थियो । उहाँ आफ्ना आखिरी दिनहरूमा पनि भनिरहनुभएको थियो- समुन्नतिका लागि लोकतन्त्र अनिवार्य छ ।

उता सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि नै जवाहरलाल नेहरू प्रधानमन्त्री थिए । उनको व्यक्तित्व करिश्मायुक्त थियो । उनी भारतमा धर्मनिरपेक्षता, लोकतन्त्र र विज्ञान तथा प्रविधिको प्रवर्धनमा डटेर लागेका थिए । शीतयुद्धको त्यो समयमा असंलग्न आन्दोलनका उनी एक अगुवा थिए ।

भारतमा गतिलो प्रतिपक्ष थिएन । मुख्य प्रतिपक्षी समाजवादीहरू कमजोर हुँदै गइरहेका थिए । विशाल भारत समक्ष चुनौतीहरू पनि विशालै थिए । चीनसँग सम्बन्ध बिग्रँदै गएको थियो । त्यसैले त्यहाँको बौद्धिक राजनीतिक वृत्तमा नेहरूको उत्तराधिकारी को होला भन्ने चर्चा चल्न थालेको थियो । त्यही पृष्ठभूमिमा इजरायलमा बीपीको तर्कयुक्त धाराप्रवाह प्रवचन र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता देखेर त्यहाँ उपस्थित एक भारतीय पत्रकारले बीपीमा नेहरूको उत्तराधिकारीमा हुनुपर्ने क्षमता देखेको चर्चा गरेको बताइन्छ । कसैले यस्तो चर्चा कूटनीतिक स्तरमा चलेको हो पनि भन्छन् तर सायद यस्तो उल्लेख भएको आधिकारिक दस्तावेज भने उपलब्ध छैन ।

स्मरणीय छ, बीपी कोइरालाको त्यो दुर्लभ प्रवचनको अक्षर उतार इजरायली राजदूत हानान गडरले २०८० भदौ २६ गते मङ्गलबार विशेष उपहारका रूपमा बीपीका अनुयायी मानिएका राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा हस्तान्तरण गरेका थिए । सो हस्तान्तरण कार्यक्रममा राजदूत गडरले आफूले असीम रुचिका साथ लामो समय खोजी गरेर सो प्रवचन फेला पारेको पनि उल्लेख गरेका थिए । थाहा छैन त्यो शीतल निवासमा कता थन्किएको छ ।

२९ सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्रसंघको १५ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बीपी कोइरालाले जनवादी गणतन्त्र चीनलाई एउटा सम्मानित सदस्यका रूपमा विश्व संगठनमा भित्र्याउन जोडदार आह्वान गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघमा हुने प्रतिनिधित्वतर्फ संकेत गर्दै उहाँले भन्नुभएको थियो, “हाम्रो विचारमा जनवादी गणतन्त्र चीनलाई उसको अधिकारकै रूपमा यस संगठनमा प्रवेश नदिएसम्म संयुक्त राष्ट्रसंघ न विश्वव्यापी संस्था बन्न सक्दछ न यसले विश्वको विद्यमान राजनीतिक यथार्थलाई प्रतिबिम्बित गर्न सक्दछ । गणतन्त्र चीनलाई यस गरिमामय सभामा नभित्र्याएसम्म संयुक्त राष्ट्रसंघले आफ्ना केही महत्वपूर्ण उद्देश्य र कार्यहरूलाई प्रभावकारी रूपमा पूरा गर्न सक्दैन । अहिलेसम्म प्रदर्शित गरेको भन्दा बढी कल्पनाशीलता र अग्रदृष्टि लिनका लागि म संयुक्त राष्ट्रसंघ समक्ष आह्वान गर्दछु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *