‘योगले जीवन ऊर्जावान् बनाउँछ’
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले योगलाई जीवनशैलीसँग जोड्न सके मात्र मानव जीवन सुखमय र ऊर्जावान् हुने बताएका छन्। विराटनगर-३ ढाटमा बिहीबारदेखि सुरु भएको पाँच दिने ‘मनोक्रान्ति स्मार्ट योग शिविर’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा मन्त्री पराजुलीले योगले शारीरिक र मानसिक रूपमा निरोगी बनाउनुका साथै आध्यात्मिक चेतना जगाउने उल्लेख गरे। उनले भने, “योगले सबैको कल्याण गर्छ। हामीले यसलाई दैनिक जीवनको हिस्सा बनाउन सक्यौँ भने निश्चय पनि जीवन आनन्दमय र ऊर्जावान् हुनेछ।” उनले बिहीबार बिहान ५ बजे दीप प्रज्वलन गरी शिविरको शुभारम्भ गरे।
मनोक्रान्ति विश्व परिवार बाराङ पोखराका वरिष्ठ प्रशिक्षक आचार्य सौगात कार्कीका अनुसार शिविरमा स्मार्ट योगा, श्वास क्रिया, ध्यान र हिप्नोसिस लगायतका विधिहरू सिकाइनेछ। विकासानन्द फाउन्डेसन विश्व परिवारले ‘संसारलाई बदल्नु छ, सुरु आफूबाट गर्नु छ’ भन्ने नाराका साथ देशैभर यस्ता साधना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
शिविरकी सचिव रिता पाठकले नगरवासीहरूलाई योग शिविरमा सहभागी भई शारीरिक र मानसिक शक्ति रूपान्तरणको अवसर लिन आग्रह गरिन्। यस्तै, विराटनगर शाखाकी अध्यक्ष गीता आचार्यले आगामी दिनमा पनि यस्ता शिविरहरूलाई निरन्तरता दिइने जानकारी दिँदै सबैलाई योगसँग जोडिन निमन्त्रणा दिइन्। योग शिविर शुक्रबार बिहान ४ः३० देखि ६ः३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
फाउन्डेसनले दैनिक रूपमा फेसबुक र युट्युबमार्फत पनि आफ्ना साधक–साधिकाहरूलाई साधना गराउँदै आएको छ।
