सिलिगुडीमा नेपथ्य : सांगीतिक उत्सवको तयारी

काठमाडौँ। तीन दशकदेखि नेपाली लोकरक संगीतमा राज गर्दै आएको ब्याण्ड ‘नेपथ्य’ पहिलो पटक भारतको सिलिगुडीमा प्रस्तुत हुने भएको छ। आगामी फेब्रुअरी २८ (फागुन १६ गते) कावाखलीस्थित उत्सोधारा टिष्टा टाउनशिपमा ‘नेपथ्य लाइभ सिलिगुडी’ कन्सर्ट आयोजना हुन लागेको हो।

भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कले यस सांगीतिक कार्यक्रमको व्यवस्थापन सम्हालेको छ। आयोजकका अनुसार यसअघि सिलिगुडीमा चर्चित भारतीय गायक अरिजित सिंहको जस्तै भव्य र विश्वस्तरीय स्तरमा नेपथ्यको कन्सर्ट आयोजना गरिनेछ। पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले नेपथ्यको सांगीतिक धरोहरलाई सम्मान गर्दै पूर्वी भारतका संगीतप्रेमीलाई उत्कृष्ट अनुभव प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

यस कन्सर्टलाई लिएर भारतका प्रमुख सहरहरू मुम्बई, बेंगलुरु, नयाँ दिल्लीदेखि भुटान र नेपालसम्मका दर्शकहरूमाझ ठुलो आकर्षण देखिएको छ। आयोजकले ‘अर्ली बर्ड’ टिकटहरू अनलाइनमार्फत बिक्री भइसकेको र हाल सीमित टिकटहरू मात्र बाँकी रहेको जानकारी दिएका छन्। नेपालमा रहेका संगीतप्रेमीहरूले ‘खल्ती’ एपमार्फत सजिलै टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सामाजिक जनजीवन र पहिचानका गीतहरूका लागि प्रख्यात नेपथ्यले यसअघि अस्ट्रेलिया, युरोप, अमेरिका र जापान जस्ता देशहरूमा सफल सांगीतिक यात्रा गरिसकेको छ। उत्तर बंगालको प्रवेशद्वार मानिने सिलिगुडीमा हुने यो कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *