दक्षिणी अफ्रिकामा भीषण बाढी : १०० भन्दा बढीको मृत्यु
प्रतीकात्मक तस्बिर
दक्षिणी अफ्रिकाका विभिन्न देशहरूमा विगत केही समयदेखि जारी भीषण वर्षा र बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वे लगायतका देशमा आएको प्राकृतिक विपत्तिमा परी हालसम्म १०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
यस पटकको वर्षा र बाढीबाट सबैभन्दा बढी मोजाम्बिक प्रभावित भएको छ। त्यहाँको विपद् व्यवस्थापन निकायका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको असामान्य वर्षाका कारण हालसम्म १०३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरूमा बाढीमा डुबेका, पूर्वाधार भत्किएर पुरिएका, चट्याङ लागेका र बाढीपछि फैलिएको हैजाका बिरामीहरू रहेका छन्। विश्व खाद्य कार्यक्रमले त्यहाँ २ लाखभन्दा बढी मानिस प्रभावित भएको र हजारौँ घरहरू क्षतिग्रस्त भएको जनाएको छ।
उत्तरी लिम्पोपो र एम्पुमालांगा प्रान्तमा बाढीले ३० जनाको ज्यान लिएको छ। राष्ट्रपति सिरिल रामाफोसाका अनुसार एक सातामै करिब ४०० मिलिमिटर वर्षा भएको छ। सेनाले हेलिकप्टर प्रयोग गरी रुख र छानामा फसेकाहरूको उद्धार गरिरहेको छ। प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्जबाट ६०० पर्यटक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। जिम्बाब्वेमा भारी वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घर र विद्यालय, पुल जस्ता भौतिक पूर्वाधार ध्वस्त भएका छन्।
मौसमविद्हरूका अनुसार यो भीषण वर्षा ‘ला निन्या’ मौसम प्रणालीका कारण भएको हो, जसले दक्षिणपूर्वी अफ्रिकामा अत्यधिक वर्षा गराउँछ। मोजाम्बिकमा मात्रै ७० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेपछि यस क्षेत्रमा गम्भीर खाद्य संकट उत्पन्न हुने खतरा बढेको छ। मडागास्कर, मलावी र जाम्बियामा पनि बाढीको असर देखिएको छ। धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने त्रास फैलिएको छ।
