माघे संक्रान्तिमा ‘गोबर गणेश’
काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ। आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो। सोमबार बोर्डबाट प्राप्त यो प्रमाणपत्रसँगै अब यो चलचित्रलाई स-साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउने बाटो खुलेको छ।
लोकप्रिय हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको यस चलचित्रले विशेषगरी पढाइमा कमजोर भएपछि काठमाडौं आएर जीवन बदल्न संघर्ष गर्ने एक युवकको कथालाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ। सार्वजनिक भएका ट्रेलर र गीतहरूबाट यो चलचित्रले सामाजिक संघर्ष र हास्यको मिश्रण बोकेको बुझ्न सकिन्छ। सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएपछि निर्देशक मरिचमान श्रेष्ठसहितको निर्माण टोली उत्साहित देखिएको छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा मरिचमानका साथै वर्षा शिवाकोटी, विनोद न्यौपाने, बुद्धि तामाङ, निर्मल शर्मा, रमेश बुढाथोकी, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहेको यस चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ। फिल्मको पोस्टर र गीतले पहिले नै राम्रो चर्चा कमाइसकेकाले माघे संक्रान्तिमा यसले हलमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ।
