विवाह समारोहमा ग्यास सिलिन्डर विस्फोट: बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित एक विवाह समारोहमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला र बेहुलीसहित ८ जनाको मृत्यु भएको छ। इस्लामावादको सेक्टर जी-७/२ स्थित एक घरमा उत्सव चलिरहेका बेला भएको यस भीषण दुर्घटनामा अन्य ११ जना गम्भीर घाइते भएका छन्।
उद्धार अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि त्यसको प्रभावले विवाह भइरहेको घर पूर्ण रूपमा भत्किएको छ। उद्धार टोलीले भग्नावशेषबाट १९ जनालाई निकालेको थियो, जसमध्ये ८ जनाको ज्यान गइसकेको थियो। घाइतेहरूलाई तत्काल पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ। अस्पतालकी प्रवक्ता डा. अनिजा जलालका अनुसार धेरैजसो घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट ग्यास चुहिएका कारण सिलिन्डर विस्फोट भएको खुलेको छ। विस्फोटको आवाज टाढा-टाढासम्म सुनिएको र यसले छिमेकी अन्य चारवटा घरमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन्। खुसीयाली छाएको विवाह घर क्षणभरमै शोकमा डुबेको यस हृदयविदारक घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
