सरकारी वेबसाइट ह्याक गरेको आरोपमा २ जना पक्राउ
काठमाडौँ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) पुर्याएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोग जस्ता निकायको डाटा ब्रिचमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा झापा मेचीनगरका २० वर्षीय सन्तोष चिमरिया र झापा दमकका १९ वर्षीय विकास पौडेल रहेका छन्। प्रहरीका अनुसार चिमरियालाई झापाबाट र पौडेललाई सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट ४ थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, १ थान आइफोन, हार्ड ड्राइभ र रिपिटर लगायतका उपकरण बरामद गरिएको छ। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता दीपक राज अवस्थीले जानकारी दिए।
