अक्षरको भोक र तृप्तिको खोजी

लेखन एउटा प्यास हो, तर यो प्यास मेटिनु भनेको शब्दहरू कागजमा कोरिनु वा कुनै पत्रिकाको पानामा आफ्नो नाम छापिनु मात्र होइन रहेछ। अक्षरको भोक र तृप्तिको खोजीले कुनै पनि सिर्जनशील मनले उजाड, उराठ ठाउँमा पनि सौन्दर्यको हराभरा भावना जगाउँछ। एउटा–एउटा शब्दबाट अनेक भावनाको जन्म गराई सिर्जनाको स्वरूप निर्माण गर्छ। ‘एक थुकी सुकी, हजार थुकी नदी’ भने जस्तै तिनै एक–एक संकलनले क्रमशः अक्षरको भोक र तृप्तिको खोजीलाई सन्तुष्टिको सोपानमा चढाइदिन्छ। त्यसले अनुभूतिको आकाश निर्माण गरिदिन्छ।

भोक त धेरै प्रकारका हुन्छन्– पेटको भोक, प्रतिष्ठाको भोक, प्रेमको भोक आदि। तर, यी सबैभन्दा अलि फरक र अलि जिद्दी ‘लेख्नुको भोक’ हुन्छ। यो यस्तो तिर्खा हो, यस्तो आग्रह र यस्तो चाहनाको प्यास कि अन्ततः यसले मान्छेलाई निद्रामा पनि ब्युँझाइदिन्छ र भीडमा पनि एक्लो बनाइदिन्छ।

त्यतिबेला समयको गतिसँगै एउटा कुरा प्रस्ट हुँदै जाँदो रहेछ– लेख्नुको भोक र छापिनुको मोहबीच एउटा ठूलो खाडल छ। त्यसलाई पुर्न र पुरेर समग्रमा आफूलाई अभिव्यक्त गर्नुको प्राप्ति सार्वजनिक गर्न उन्मुख हुन्छ। सिर्जनाको आन्तरिक छटपटीको शान्त गमन यही सिर्जनाको पूर्णताले दिँदो रहेछ।

सुरुका दिनहरूमा लाग्थ्यो, मनका भावनाहरूलाई शब्दको भलिभाँति विम्ब पहिर्‍याएर कागजमा उतार्नु नै सबैथोक हो। जब कुनै पत्रिका वा पुस्तकमा आफ्ना नामका अक्षरहरू काला र चम्किला भएर छापिन्छन्, तब लाग्थ्यो– जीवन धन्य भयो। तर त्यो ‘छापिनु’ त एउटा सामाजिक प्रमाण मात्र रहेछ। छापिनुले लेखकलाई चिनाउला, तर उसलाई बुझाउँदैन।

वास्तवमा लेख्नु भनेको त आफूले आफैँलाई उत्खनन गर्नु पनि पो रहेछ। भित्र कतै दबेर बसेका पीडा, कुण्ठा, तनाव, खुसी र आनन्दका पत्रहरूलाई कोट्याउँदै जाँदा जुन एउटा खाका तयार हुन्छ, त्यो खाकालाई ऐना जस्तै हेर्नुको आनन्द छापिएका हजारौँ प्रतिहरूमा पनि नपाइने रहेछ। छापिनुको सीमा अन्तहीन हुँदो रहेछ।

छापिनु एउटा गन्तव्य जस्तो देखिए पनि यो एउटा ‘विश्राम’ मात्र हो। छापिएपछि रचना मेरो रहँदैन, त्यो पाठकको भइदिन्छ। पाठकले त्यसलाई कसरी बुझ्छन्? त्यो उनीहरूको चेतनाको कुरा भयो। तर लेख्दै गर्दाको जुन प्रक्रिया छ– शब्दहरूको छनोट, भावको गहिराइ र विचारको मन्थन– असली उत्सव त त्यहीँ पो हुने रहेछ।

जब म लेख्छु, म बाँच्छु। जब म छापिनका लागि मात्र मरिहत्ते गर्छु, म बिस्तारै एउटा ‘उत्पादन’ बन्न थाल्छु। आजको बजारमुखी समयमा छापिनुलाई नै सफलताको मानक मानिन्छ, तर एउटा सच्चा सर्जकका लागि आफ्नो मनसँग इमानदार भएर लेखिएको एउटै हरफ पनि छापिएका सयौँ ठेलीभन्दा वजनदार हुन्छ।

अहिले आएर महसुस हुँदै छ– लेख्नुको भोक मेटिनु भनेको अक्षरहरू सकिनु होइन, बरु आफूलाई रित्तो पार्दै लैजानु हो। भित्र केही बाँकी नरहोस्, सबै कुरा शब्द बनेर पोखिउन् भन्ने चाहना नै वास्तविक भोक रहेछ। र, यो भोक मेटिएपछि प्राप्त हुने मौनता नै लेखनको वास्तविक उपलब्धि हो।

छापिनु त संसारसँगको एउटा औपचारिक परिचय मात्र हो। तर लेख्नु? लेख्नु त आफ्नै अस्तित्वको खोजी हो। त्यसैले त भनिन्छ नि, लेख्नुको भोक मात्रै पनि होइन र छापिनुको सबैथोक मात्रै पनि होइन र हुँदैन रहेछ। यी दुवैको सन्तुलन र त्योभन्दा माथि उठेर गरिएको ‘आत्म–संवाद’ नै साहित्यको असली सौन्दर्य हो।

लेख्नु भनेको कागज भर्नु मात्र होइन, बरु आफ्नो शून्यतालाई अर्थ दिनु हो भन्ने मेरो मान्यता छ। अनि त्यसमा लेखकीय मौलिकताको विम्ब अर्को सुन्दर सम्प्रेषणको कौशल हो। यद्यपि लेखकको स्वाभिमान र छापिनुको भ्रमलाई इमानदारीपूर्वक बचाउन सक्नुपर्छ।

निश्चय नै, सिर्जनाले जब अक्षरको आकार ग्रहण गर्छ, तब त्यसले पूर्णता पाउनका लागि एउटा माध्यम खोज्छ। त्यो माध्यम भनेको ‘छापिनु’ हो। छापिनु आफैँमा नराम्रो कुरा होइन, किनकि यसले शब्दलाई पखेटा दिन्छ र पाठकको आँगनसम्म पुर्‍याउँछ। तर, विडम्बना कहाँनिर छ भने, कतिपयलाई लाग्छ– उनले छापिदिएकै कारण कोही ‘लेखक’ बन्यो।

प्रकाशन, माध्यम कि जन्मदाता? यो प्रश्न पनि आफैँमा एउटा छलफलको विषय हुन थालेको छ। मलाई लाग्छ प्रकाशक भन्नु लेखनलाई पाठकसम्म पुर्याउने माध्यम मात्रै हुन्। लेखकको जन्मदाता त लेखक आफैँ हो, उसले सँगालेको अनुभूतिहरू हो। उसले व्यक्त गरेको सुस्वादु विचारहरू हो।

कसैको पाण्डुलिपिलाई प्रेसको मेसिनसम्म पुर्‍याइदिनु र कागजमा मसीको टाँका लगाइदिनु नै कसैलाई ‘लेखक’ बनाउनु होइन। लेखक बन्नु त एउटा लामो र कष्टसाध्य ‘गर्भधारण’ जस्तै हो। एउटा लेखकले कति रातहरू निद्रासँग साटेको हुन्छ, कति पटक आफ्नै आँसुले शब्द भिजाएको हुन्छ र कति पटक रित्तिएर फेरि भरिएको हुन्छ। यी सबै पीडा र प्रसवको साक्षी ऊ स्वयम् र उसको एकान्त मात्र हुन्छ।

छापिदिनेहरू त ‘धाईआमा’ मात्र हुन्, जसले जन्मिसकेको शिशुलाई संसार देखाउने काम गर्छन्। तर, शिशुको रगत र डीएनएमा त उसको आमा (लेखक) कै अंश हुन्छ। त्यसैले, ‘मैले छापिदिएर यो लेखक भयो’ भन्नु एउटा यस्तो दम्भ हो, जसले सिर्जनाको पवित्रतालाई अपमान गर्छ। एउटा सिर्जनशील लेखकको इमानदार अभिव्यक्तिको मूल्यलाई अवमूल्यन गर्न खोजेको ठानिन्छ।

लेखक हुनु कुनै संस्थाको छाप वा प्रकाशकको सहीमा टिकेको ‘पदवी’ होइन। यो त एउटा इमानदार अभिव्यक्तिको ‘उपलब्धि’ हो। यदि कसैले वर्षौँ लगाएर आफ्नो भावना खियाएर एउटा वाक्य लेख्छ भने, त्यो वाक्य उसैको हो। त्यो छापिए पनि उसको हो, नछापिए पनि उसको हो। कसैको कृपाले कोही लेखक हुने भए त संसारका सबै धनाढ्य र शक्तिवालाहरू महान् साहित्यकार भइसक्थे होलान्।

छापिनुले एउटा ‘परिचय’ देला, तर ‘पहिचान’ त शब्दको इमानदारीले नै दिन्छ। कुनै प्रकाशकले एउटा कृति बजारमा ल्याइदिएकै भरमा ‘मैले यसलाई लेखक बनाएँ’ भन्नु सूर्यलाई ‘मैले ऐना देखाइदिएर उज्यालो बनाइदिएँ’ भन्नु जस्तै हास्यास्पद कुरा हो।

अन्तिम सत्य यही हो कि, लेखक हुनु एउटा आन्तरिक यात्रा हो, जबकि छापिनु एउटा बाह्य प्रक्रिया। एउटा सर्जकका लागि उसको सबैभन्दा ठूलो पुरस्कार उसको कृतिको प्रकाशन होइन, बरु त्यो क्षण हो जब उसले आफ्नो मनको कुरालाई दुरुस्तै कागजमा उतार्न सफल हुन्छ।

सत्य त यो पनि हो कि– कागजमा छापिने अक्षरहरूभन्दा अघि ती अक्षरहरू लेखकको हृदयमा छापिएका हुन्छन्। कसैको छापिदिएकै भरमा कोही लेखक हुने होइन, लेखक त ऊ त्यही दिन भइसकेको हुन्छ, जुन दिन उसले संसारलाई आफ्नो दृष्टिले हेर्न र त्यसलाई शब्दमा बदल्न साहस गर्छ। त्यसैले, लेखन कुनै प्रकाशकको अनुदान होइन, यो त सर्जकको आफ्नै तपस्याको फल हो।

छापिनुले लेखकलाई भीडमा उभ्याउन सक्छ, तर लेखक हुनुले उसलाई भीडभन्दा अलग्ग र जीवन्त बनाउँछ। अतः अक्षरको भोक र तृप्तिको खोजीपश्चात्को प्राप्तिले लेखकीय सत्तालाई सदा स्मरणीय रूपमा स्थापित गराइरहन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *