धावनमार्गबाट जहाज चिप्लिएपछि…(९ तस्बिरमा हेर्नुस् बुद्ध एयर दुर्घटना)

विराटनगर । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौँबाट शुक्रबार राति ८ः२३ बजे उडेको कलसाइन ९०१ रहेको एटीआर ७२ जहाज ९ः१० बजे अवतरणका क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको हो।

५१ जना यात्री, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियरसहित ५६ जना सवार उक्त जहाज दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली उद्धारका लागि खटिएको थियो।

दुर्घटनामा परेर सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ, भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र सोही स्थानकी १६ वर्षीया प्रिया घतानी छन्।

घाइतेहरूलाई तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको हाल अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना यात्रीहरू सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्। प्रहरीले जहाजमा सवार सबै यात्रीहरूलाई सकुशल बाहिर निकालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *