आत्मबोध र नैतिकता

मानव जीवनको वास्तविक उद्देश्य आत्मिक उन्नति, चरित्र निर्माण र नैतिक मूल्यहरूको विकासमा निहित छ। आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा मानिसहरू प्रायः बाह्य उपलब्धिमा मात्र केन्द्रित हुन्छन्, जसले मानसिक अस्थिरता, तनाव र आन्तरिक शून्यता निम्त्याउन सक्छ। यस्तो परिस्थितिमा आध्यात्मिक अभ्यासले व्यक्तिलाई आत्मचेतनामा उन्नति गर्ने र आन्तरिक सन्तुलन कायम राख्ने महत्त्वपूर्ण माध्यमका रूपमा कार्य गर्दछ।

आध्यात्मिक अभ्यासले ध्यान, प्रार्थना, स्व-अवलोकन, सेवाभाव र सकारात्मक सोचलाई समेट्छ। यी अभ्यासले मनलाई स्थिर बनाउने, भावनात्मक नियन्त्रणमा सुधार ल्याउने र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने काम गर्छन्। आत्मचेतनाको विकासले व्यक्तिलाई आफ्ना कमजोरी र सामाजिक जिम्मेवारीको बोध गर्न सक्षम बनाउँछ।

नैतिकता भनेको सामाजिक र व्यक्तिगत जीवनमा सही र गलतको भेद बुझ्ने क्षमता हो। आध्यात्मिक अभ्यासले व्यक्ति मात्र होइन, समाजमा पनि नैतिक मूल्यहरूको प्रवर्द्धन गर्छ। जब व्यक्ति आत्मिक चेतनामा प्रगति गर्छ, तब उसले इमानदारी, करुणा, सहिष्णुता, परोपकार र न्यायप्रियता जस्ता गुणहरू आत्मसात् गर्न थाल्छ। यसले जीवनको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ र सामाजिक सम्बन्धलाई मजबुत बनाउँछ।

मानव जीवन भौतिक अस्तित्व मात्र होइन; यसको सार चेतना, नैतिकता र आत्मबोधमा लुकेको हुन्छ। भागवद्गीताले भनेझैँ- “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” अर्थात् हामीलाई कर्म गर्ने अधिकार छ, तर फलमा हाम्रो नियन्त्रण हुँदैन। जब व्यक्तिले आफ्नो कर्मलाई नैतिक र धर्मसंगत दृष्टिले हेर्छ, तब समाजमा सद्भाव र पारस्परिक सम्मानको वातावरण निर्माण हुन्छ।

आधुनिक विज्ञान र प्रविधिले जीवनलाई सहज बनाए पनि यसले आत्मबोध र नैतिक चेतनामा चुनौतीहरू पनि थपेको छ। यस्तो अवस्थामा आध्यात्मिक अभ्यासले मानिसलाई भौतिक सुखभन्दा माथि उठेर आन्तरिक शान्ति र सन्तुलन सिकाउँछ। सर्वजनहिताय, ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ जस्ता शाश्वत सिद्धान्तहरू आत्मचेतनाबाट मात्र व्यवहारमा परिणत हुन सक्छन्।

व्यवहार सुधारमा अध्यात्मको भूमिका अतुलनीय छ। व्यवहार व्यक्तिको बाह्य क्रियाकलाप र प्रतिक्रियाको प्रतिबिम्ब हो, जसका आधारमा समाजमा उसको प्रतिष्ठा निर्माण हुन्छ। अध्यात्मले मानिसलाई आफ्नो पवित्र आन्तरिक अवस्था बुझ्न र सोही अनुसार आचरण गर्न प्रेरित गर्दछ। आत्मनियन्त्रणको अर्थ आफ्नो चित्त र भावनालाई वशमा राख्नु हो, जसले आचरणलाई अनुशासित बनाउँछ।

अध्यात्म मार्गबाट मानव जीवनलाई प्रयोग गरी यसमा रहेको सीमित चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ। ईर्ष्या, द्वेष, घृणा र प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउँछ। त्यसैले भनिन्छ- “सबै धार्मिक व्यक्ति आध्यात्मिक नहुन सक्छन्, तर आध्यात्मिक व्यक्ति स्वभावैले धार्मिक हुन्छन्।” जीवनको सार्थकता खोज्न, सत्य ज्ञान प्राप्त गर्न र परमात्माको वास्तविक अनुभूति गर्न आध्यात्मिक मार्गको अवलम्बन आजको अपरिहार्य आवश्यकता हो।

(लेखक उप्रेती, कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *