संघर्षदेखि बलिउडसम्मको अनुभव: ‘प्रतिवैरम्’ मा खलपात्र बनेर आउँदै नारायण

इलाम | विगत आठ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका कलाकार नारायण बिक पछिल्लो समय एक सशक्त प्रतिभाका रूपमा उदय भइरहेका छन्। फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनले मुम्बईमा बसेर बलिउडमा समेत आफ्नो कलालाई अझ तिखारेका छन्। सोही क्रममा उनले बलिउड स्टार विक्की कौशलसँग समेत काम गर्ने अवसर पाएका थिए।

नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज र दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिका मार्फत आफ्नो उपस्थिति बलियो बनाए। म्युजिक भिडियो र वेब सिरिजहरूमा पनि उनको अभिनय कौशलको प्रशंसा हुने गरेको छ।

अहिले उनी निर्देशक रोशन दासको नयाँ फिल्म ‘प्रतिवैरम्’ मार्फत मुख्य खलनायक (नेगेटिभ प्रहरी इन्स्पेक्टर) को भूमिकामा दर्शकमाझ आउने तयारीमा छन्। आगामी जेठ महिनामा प्रदर्शन हुने यस फिल्ममा नारायणको चरित्र कठोर, रहस्यमय र प्रभावशाली रहेको बताइएको छ।

आफूलाई एक ‘अब्बल कलाकार’का रूपमा चिनाउने यात्रामा रहेका नारायण यस भूमिकालाई आफ्नो करिअरको महत्त्वपूर्ण मोड मान्छन्। थिएटरको जग र लगातारको मेहनतले उनलाई आजको स्थानसम्म पुर्‍याएको हो। ‘प्रतिवैरम्’ मार्फत उनको अभिनयको एउटा नयाँ र बलियो पाटो उजागर हुने अपेक्षा गरिएको छ।

-निशान निरौला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *