शक्ति, विकल्प र चेतनाबीचको ऐतिहासिक परीक्षा

आजको लेखनको सुरुवातमा केही गम्भीर प्रश्न:

के आज नेपाल नेतृत्वको संकटमा छ, कि चेतनाको संक्रमणमा?

के हामी कुनै नेताको ओरालो यात्रा हेर्दैछौँ, कि एउटा सिङ्गो युगको रूपान्तरणकै साक्षी बन्दैछौँ?

र, सबैभन्दा गम्भीर प्रश्न- नेतृत्व समयभन्दा अघि छ, कि समय नेतृत्वभन्दा निकै अघि निस्किसकेको छ?

चाणक्यको युगमा शक्ति ‘सूचनाको नियन्त्रण’ मा टिक्थ्यो, तर एआईको युगमा शक्ति ‘व्याख्याको नियन्त्रण’ मा टिक्छ। आजका जनता दर्शक मात्र होइनन्, निर्णायक हुन्। एक वाक्य, एक हाउभाउ र एक प्रतीकले क्षणभरमै राजनीतिक धारणा बनाउने यो डिजिटल युगमा नेतृत्वको अडान, विकल्पको खोज र पुस्तागत चेतनाबीच नेपाली राजनीति एउटा गहिरो ऐतिहासिक परीक्षामा प्रवेश गरेको छ।

यही सन्दर्भमा केपी शर्मा ओली, रवि लामिछाने र ‘जेन्जी’- यी तीन नाम मात्र होइनन्, बरु शक्ति, विकल्प र चेतनाका तीन फरक राजनीतिक मनोविज्ञानका प्रतीक हुन्। यो लेख कसैको समर्थन वा विरोधका लागि होइन; यो त नेतृत्व र आन्दोलनलाई इतिहासको कसीमा राखेर गरिएको एउटा बौद्धिक आत्ममूल्याङ्कन हो।

वाम आन्दोलन र इतिहासको कसी भिडको माग जे पनि हुन सक्छ, तर नेतृत्वले बुझ्नैपर्ने मूल प्रश्न एउटै हुन्छ: समयको वास्तविक माग के हो र हामीले के परिपूर्ति गर्दैछौँ? यही तालमेल मिल्यो भने स्थिरता जन्मिन्छ, नत्र दम्भ र इखको द्वन्द्व मात्र बाँकी रहन्छ। समृद्धिको परिणामलाई अलग राखेर मूल्याङ्कन गर्दा, नेपालमा वाम आन्दोलन कुनै आकस्मिक प्रयोग होइन। यो त पुष्पलालले १९४९ मा रोपेको संगठित बीउ, मदन भण्डारीको ‘जबज’ ले दिएको नेपाली माटोको सुगन्ध, मनमोहन अधिकारीको सरकारले स्थापित गरेको ‘शासनयोग्यता’ र प्रचण्डको नेतृत्वमा भएको सशस्त्र संघर्ष तथा शान्ति प्रक्रियाको एउटा समष्टिगत रूप हो। त्यसैले आज देखिएका विभाजन वा एकताका अभ्यासहरू यही ऐतिहासिक यात्राकै क्रमिक परिणाम हुन्।

केपी ओली: शिखरको अडान कि भिरालोको जोखिम?

केपी शर्मा ओली सत्ता-उत्पादनको कारखानाबाट आएका नेता होइनन्। जेल जीवन, संघर्ष र संगठनको भट्टीमा खारिएर बनेको उनको व्यक्तित्व नै उनको वैधताको आधार हो। २०७२ को नाकाबन्दीका बेला उनले देखाएको अडानले उनलाई ‘राष्ट्रिय स्वाभिमान’ को प्रतीक बनायो। तर, इतिहासले शिखर चढ्नेलाई मात्र महान् मान्दैन; उसले सोध्छ— शिखरमा पुगेपछि के उपलब्धि भयो र के गुमाइयो?

आज ओलीको यात्रा ‘ओरालो’ होइन, ‘कोर्स परिवर्तन’ को मोडमा छ। जब असहमतिलाई अनुशासनहीनता मानिन थालियो र कार्यकर्ताहरू विचारका वाहकबाट निर्देशनका कार्यान्वयनकर्तामा सीमित हुन थाले, तब नेतृत्व र समाजबीचको खाडल गहिरिन थाल्यो। सार्वजनिक आलोचनालाई “झोले” भनेर व्यङ्ग्य गर्नु, कूटनीतिक मर्यादामा अति-आत्मविश्वास देखिनु र ‘जेन्जी’ को आवेगलाई हल्का रूपमा लिनु रणनीतिक भूलका संकेतहरू हुन्। प्रश्न ओलीको नियतमा होइन, नेतृत्वले संकटलाई कसरी बुझ्यो भन्नेमा छ। इतिहासले शिखर चढ्नेलाई भन्दा शिखरपछि सही मोड लिनेलाई बढी सम्झन्छ।

ओदानका तीन खुट्टा

ओली, माधव र बामदेव कुनै समय एमालेको शक्ति ‘त्रिवेणी’ जस्तै थियो- जहाँ माधव नेपालले संगठनको मेरुदण्ड सम्हालेका थिए, बामदेव गौतमले जनसंघर्षको ऊर्जा भरेका थिए र केपी ओलीले रणनीति एवं अडान प्रदान गरेका थिए। यी तीनको सन्तुलनले नै एमालेलाई सामूहिक नेतृत्वको पार्टी बनाएको थियो। तर जब माधव नेपाललाई ‘अवरोध’ र बामदेवलाई ‘अविश्वसनीय’ देख्न थालियो, पार्टी सामूहिकताबाट ‘एकल केन्द्र’ तर्फ ढल्कियो। ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रगतिशील व्यवस्थालाई “विशेष अवस्था” का नाममा खारेज गरिनुले संस्थागत पद्धतिमाथि व्यक्तिको पकड बलियो भएको पुष्टि गर्छ। बामदेव गौतम जस्ता नेताहरूको बहिर्गमन व्यक्तिगत पराजय मात्र होइन, सामूहिक आन्दोलनकै एउटा दुःखद मोड हो।

शक्ति, विकल्प र चेतनाको त्रिकोणात्मक द्वन्द्व

आजको राजनीतिलाई बुझ्न यी तीन प्रतीकलाई केलाउनु पर्छ:

१. शक्ति (केपी ओली): जो स्थायित्व र नियन्त्रण चाहन्छ। जहाँ संवादभन्दा बढी निर्देश चल्छ।

२. विकल्प (रवि लामिछाने): जो परम्परागत राजनीतिबाट थाकेकाहरूको आक्रोश र आशाको प्रतिविम्ब हुन्। यो भावनामा टिकेको राजनीति हो, जसलाई दार्शनिक गहिराइ प्राप्त गर्न अझै बाँकी छ।

३. चेतना (जेन्जी): यो कुनै व्यक्ति वा दल होइन, यो त प्रश्न गर्ने पुस्ता हो। यसले ‘भक्ति’ होइन, ‘उत्तरदायित्व’ खोज्छ। यसका लागि तथ्य र परिणाम नै सबैभन्दा ठूलो सत्य हो।

राजनीति अब डरले होइन, चेतनाले चल्छ। शक्तिले संवाद गर्न नसके विकल्प जन्मिन्छ, र विकल्प परिपक्व नहुँदा चेतनाले नयाँ बाटो खोज्छ।

ताजा जनादेश र आत्मसमीक्षा 

संकट दोहोरिँदा उपाय पनि दोहोरिन्छ- त्यो उपाय हो, ‘ताजा जनादेश’। अदालतले हिजो अस्वीकार गरेको बाटो आज पनि सत्यकै रूपमा उभिएको छ, किनकि संकटमोचनको अन्तिम उत्तर सधैँ जनताबाटै आउँछ। फुट कसैका लागि सुखद हुँदैन, विशेष गरी वामपन्थीहरूका लागि। त्यसैले, सुधार र आत्मसमीक्षासहितको एकता नै आजको आवश्यकता हो।

हामी मनुष्य हुनुको उद्देश्य चेतनाको विस्तार र अर्थको खोज नै हो। मन र मस्तिष्कलाई बोझमुक्त बनाएर, नयाँ ऊर्जाका साथ भोलिको सुन्दर बिहानीको प्रतीक्षा गरौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *