प्रतिस्पर्धापछि एकता, परिणामपछि जिम्मेवारी
विभिन्न अड्कलबाजीका बाबजुद अन्ततः नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। सर्वप्रथम आन्तरिक प्रतिस्पर्धामार्फत महाधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष कमरेड केपी शर्मा ओलीसहित सम्पूर्ण विजयी कमरेडहरूमा हार्दिक बधाई व्यक्त गर्दछु। पार्टी झनै एकताबद्ध र सुदृढ बन्दै जाओस् तथा निर्वाचित नेतृत्वको कार्यकाल सफल रहोस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना।
साझा जितको सन्देश बहुदलीय जनवादको सिद्धान्तमा अडिग रहँदै, खुला प्रतिस्पर्धा र युगले मागेको रूपान्तरणसहितको पार्टी निर्माणका लागि यो महाधिवेशन एउटा महत्त्वपूर्ण खुड्किलो बनेको छ। अत्यन्तै चुनौतीपूर्ण प्रतिस्पर्धामा खरो उत्रिएर मैत्रीपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न हुनु नै विजेता र उपविजेता सबैको साझा जित हो। यो हामी सम्पूर्ण शुभेच्छुकहरूको पनि जित हो।
सबैको एकीकृत प्रयासले पार्टीलाई अझ सबल, गतिशील र एकताबद्ध बनाउँदै देशलाई अन्योल र निराशाबाट निकास दिलाउन एमाले सफल हुनेछ भन्ने मेरो दृढ विश्वास छ। महाधिवेशनमा बहसहरू भए, आ-आफ्ना तर्कहरू प्रस्तुत गर्ने प्रतिस्पर्धात्मक संस्कार पनि देखियो। तर, अब यो कार्यकालभरि सबैलाई समेट्दै, योग्यता र सक्रियताको आधारमा जिम्मेवारी प्रदान गर्दै, फराकिलो मन लिएर अगाडि बढ्ने अपेक्षा पार्टी नेतृत्वबाट आम कार्यकर्ता र जनताले गरेका छन्।
एक स्वस्थ प्रक्रिया यसपालिको चुनावी मैदानमा होमिएका विजेता वा पराजित सबैको अनुहार नियाल्दा, ती सबै आफ्नै पुराना र परिचित कमरेडहरू देखिन्छन्, जससँग हाम्रो ३०–३५ वर्ष लामो संगत छ। यहाँ कोही पनि शत्रु छैनन्। समय र युगको आह्वान स्पष्ट छ— योग्य हुनु, सचेत हुनु, जिज्ञासु हुनु र गतिशील रहनु। यो सबै स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट मात्र सम्भव हुन्छ, जसले व्यक्ति र संस्था दुवैलाई सक्रिय र मानसिक रूपमा स्वस्थ राख्छ।
जितलाई घमण्ड र हारलाई उपहासको विषय बनाउने, वा हतोत्साह र नकारात्मक टिप्पणीमा रमाउने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियाको मूल्य कहिल्यै बुझ्न सक्दैन। वास्तविकता के हो भने, यहाँसम्म आइपुग्नुको मुख्य आधार नै न्यायप्रेमी र निरन्तर खटिरहने ‘ग्रासरुट’ तहका कार्यकर्ताहरूको त्याग र बलिदान हो। यो आफैँमा एउटा गौरवपूर्ण विषय हो।
घेराबन्दी र आगामी चुनौती लगातारको घेराबन्दीका कारण पार्टीले सोचेजति काम गर्न नसकेको अनुभूति बाहिरबाट हेर्नेहरूले पनि गरिरहेकै कुरा हो। बाहिरबाट घेराबन्दी हुनुका मुख्य दुई कारण देखिन्छन्:
पार्टी यति लोकप्रिय बन्नु कि विरोधीहरूले त्यसलाई पचाउन नसक्नु।
सीमित घेराभित्र मात्र रहँदा समाजको वास्तविक प्रतिक्रिया बुझ्न नसक्नु, जसले गर्दा बाहिरी निगरानी बढ्नु।
तसर्थ, बाहिरी निगरानी वा आलोचना सधैँ निरर्थक हुँदैनन्, तिनले हामीलाई सच्याउन मद्दत गर्छन्। अबको बाटो भनेको आफ्ना कमजोरीहरू पहिचान गर्दै, न्यायपूर्ण समाज निर्माणका लागि ऐक्यबद्धता बलियो बनाउने र धेरैलाई समेटेर सँगै हिँड्न सक्ने विशाल, समावेशी र जिम्मेवार टिम बन्ने नै हो।
निष्कर्ष यो आलेख हार्दिक बधाई र शुभकामनाका लागि मात्र हो। अन्त्यमा, पार्टीभित्रको प्रतिस्पर्धामा विजयी हुनु एउटा परीक्षा उत्तिर्ण गर्नु हो, तर जनताको अपेक्षाको सही उत्तर कर्मबाट दिनु अझ ठूलो परीक्षा हो। आगामी निर्वाचनमार्फत जनताले त्यसको मूल्याङ्कन अवश्य गर्ने नै छन्।
विजेता र उपविजेता दुवै टिमलाई पुन: एकपटक हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
