५ महिनादेखि जंगलमा हराइरहेको घरेलु बिरालो घर फर्कँदा…

अन्टारियो। क्यानाडाको उत्तरी भूभाग ब्रिटिश कोलम्बियाको जङ्गलमा करिब पाँच महिनादेखि हराइरहेको एउटा घरपालुवा बिरालो आफ्नो परिवारसँग पुनर्मिलन गर्न घर फर्कने भएको छ।

जुलाई महिनादेखि नै ‘स्याडो’ नामको कालो बिरालो उत्तरी रकीजको उजाड जङ्गलमा हराएको थियो।

अमेरिकी नागरिक जेरेमी बार्टन अलास्काबाट आफ्नो घर ओक्लाहोमा फर्कने क्रममा लियर्ड हट स्प्रिंग्स प्रान्तीय निकुञ्जमा विश्रामका लागि रोकिएका बेला बिरालो चिप्लिएर हराएको थियो। उक्त स्थान अलास्का हाइवेको फोर्ट नेल्सनबाट करिब ३०० किलोमिटर उत्तरपश्चिममा पर्छ।

बार्टनले घण्टौँसम्म त्यसलाई खोजेका थिए। प्रयास असफल भएपछि उनले आफ्ना छोराहरू औरी र भालोरलाई बिरालो हराएको खबर सुनाएका थिए। खबर सुनेर छोराहरु दुई दिनसम्म रोएको उनले स्थानीय सञ्चार माध्यमहरुलाई बताएका छन्।

निकुञ्जका सञ्चालकहरूले बिरालोलाई फेला पारेपछि फोर्ट सेन्ट जोनका बासिन्दा ब्रुस कोसुगी र क्रिस्टिन सदरल्याण्डसँग सम्पर्क भयो। हट स्प्रिंग्स घुम्न आएका ती जोडीले सञ्चालकहरूले बिरालोलाई बार्टनसम्म कसरी पुर्‍याउने भन्ने उपाय खोजिरहेको थाहा पाएपछि स्वेच्छाले स्याडोलाई दक्षिणसम्म पुर्‍याइदिने प्रस्ताव गरे।

बिरालोसँग अत्यधिक ‘एलर्जी’ भए पनि कोसुगीले मेडिकल मास्क लगाए। सदरल्याण्डले लगभग ८ घण्टाको, ६९० किलोमिटर लामो यात्रामा स्याडोलाई आफ्नो काखमा राखेर फोर्ट सेन्ट जोनसम्म ल्याइपुर्‍याइन्।

जङ्गलमा करिब पाँच महिना बिताए पनि स्याडो स्वस्थ रहेको पाइएको छ। यस महिना सदरल्याण्डले हवाईजहाजबाट विनिपेगसम्म उडान भर्नेछिन् र त्यहाँबाट बिरालोलाई बार्टनसँग पुनर्मिलन गराइनेछ।

बार्टनले बिरालोलाई फिर्ता गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। विनिपेगबाट बार्टनले स्याडोसँगै १६ घण्टाभन्दा लामो ड्राइभ गरेर ओक्लाहोमा सिटीस्थित आफ्नो घर पुग्नेछन्।

‘नेपाल टच’ बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *