‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि बाबु-छोरीको कथामा ‘मिरमिरे’
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बुवा र सन्तानबीचको भावनात्मक सम्बन्धमा आधारित कथाहरूले बक्स अफिसमा जादुमयी प्रदर्शन गरिरहेका छन्। गत वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’ र यस वर्ष ‘परान’ ले पाएको ऐतिहासिक सफलतापछि अब यस्तै अर्को भावनात्मक कथा बोकेर चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गते प्रदर्शनमा आउने भएको छ।
बाबु–छोराको सम्बन्धमा आधारित ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालबाट मात्रै करिब ५० करोड रुपैयाँको ऐतिहासिक ग्रस कलेक्सन गरेको थियो। यस्तै, यसै वर्ष रिलिज भएको ‘परान’ ले पनि छोराहरू परदेशिँदा बाबुले भोग्ने पीडा र एक्लोपनको कथा वाचन गर्दै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा नाम लेखायो। यी दुवै चलचित्रको मुख्य बल ‘इमोसन’ नै थियो।
यही ‘इमोसन’ को ट्रेन्डलाई पछ्याउँदै तर अलिकति फरक कोणबाट कथा भन्न ‘मिरमिरे’ आउँदैछ। यसपटकको कथा बाबु र छोराको नभई बाबु र छोरीको मर्मस्पर्शी सम्बन्धमा केन्द्रित छ।
कस्तो छ ‘मिरमिरे’ को कथा ? चलचित्रमा आमाले घर छोडेर हिँडेपछि सानी छोरीलाई हुर्काउन बाबुले गर्ने सङ्घर्ष देखाइएको छ। आफैँ केही गर्न नसक्ने सानी छोरीको स्याहारसुसार, घरधन्दा, छोरीको पढाइ र आफ्नो जागिरलाई एकसाथ अगाडि बढाउँदा एउटा एक्लो बाबुले भोग्ने सास्ती र निभाउने कर्तव्य चलचित्रको मुख्य सार हो।
दर्शकले बाबु–छोराको कथालाई जस्तै बाबु–छोरीको यो कथालाई पनि अत्याधिक रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ। चलचित्रका निर्देशक यम शेर्पा भन्छन्, ‘‘हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ। त्यो माया कति देखाउने भन्ने मात्रै हो। बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ।’’ निर्देशक शेर्पाले यो हरेक घरको कथा भएकाले दर्शकले आफूलाई पात्रसँग ‘रिलेट’ गर्न सक्ने बताए।
कलाकार र निर्माण पक्ष यार्सा फिल्म्स को प्रस्तुति रहेको यो चलचित्रमा स्टार कास्टको जमघट छ। चलचित्रमा दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा छन् भने साथमा सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल छन्। गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता रहेको चलचित्रमा वीरेन्द्र शाही लाइन प्रोड्युसर छन्।
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुले मेकअप र दिलीप पन्तले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्। चलचित्रको देशभर वितरणको जिम्मा आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले लिएको छ।
