गाउँको उत्पादन, गाउँमै उद्योग, गाउँमै रोजगारी
रामेछापको पहिचानका रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट त्यहाँका किसान मुक्त भएका छन्। किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गर्न थालेपछि जुनार खेती गर्ने किसानहरूलाई ठूलो राहत मिलेको छ। अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुका साथै गाउँकै मानिसहरूका लागि रोजगारीको थलोसमेत बनेको छ।
रामेछापको रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायतका क्षेत्रमा उत्पादन भएको जुनार प्रशोधन गर्ने उद्योग रामेछाप नगरपालिका–७ सुकाजोरमा सञ्चालनमा आएको छ। जुस बनाएर गर्मीयाममा बिक्री मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानहरूको जुनार बगैँचामा नै गएर खरिद गरी जुस बनाउने गरेको छ।
कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जाडोमा जुनार त्यति नजाने भएकोले त्यसबाट जुस निकालेर राखी गर्मी सिजनमा बजारमा लैजाने बताए। रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशैभरि र विदेशसम्म पुग्ने गरेको छ। सञ्चालक श्रेष्ठका अनुसार, ‘गर्मीयाममा चाडपर्व तथा कोसेलीको रूपमा जुनारको जुसको राम्रो माग रहेको छ।’ ७० देखि ८० जना स्थानीयलाई रोजगारी जुनार टिप्ने, ताछ्ने तथा पेल्ने काममा अहिले ७० देखि ८० जना स्थानीयले नियमित काम गरिरहेका कम्पनीका सञ्चालक श्रेष्ठले जानकारी दिए।
उनले भने, “किसान आफैँले पनि रोजगारी पाएका छन्, गाउँका अन्य मानिसले पनि रोजगारी पाएका छन्।” यसैबीच, वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गरेका छन्। उनले गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमहरूले ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउँदै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सञ्चालक श्रेष्ठले सरकारका तर्फबाट अनुदानमा उपकरणहरू सहयोग भए उद्योगलाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिए।
