तनाव न्यूनीकरण गर्न ‘मानसिक स्वास्थ्य सचेतना अभियान’
काठमाडौँ । सरकारले आज (बुधबार) देखि तीन महिने ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले फागुन ३० गतेसम्म यो अभियान चलाउने जानकारी दिएको छ।
केन्द्रकी निर्देशक डा. राधिका थपलियाले मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन्। उनले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै यो अभियानले तनाव कम गर्न सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
निर्देशक डा. थपलियाले भनिन्, “पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ। त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ। मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ। अभियानबाट लाभान्वित होऔँ।”
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउन अभियान थालिएको बताए। उनले हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराए।
विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा. केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहेको बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती भएको धारणा राखे।
सो अवसरमा नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको तथ्याङ्क पनि सार्वजनिक गरिएको थियो।
