चिसो बढ्दैः फ्लूबाट कसरी जोगिने ?

काठमाडौँ। देशभर चिसो बढ्दै जाँदा मौसमसँग सम्बन्धित स्वास्थ्य समस्याहरू पनि बढ्न थालेका छन्। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै सक्रिय हुने इन्फ्लुएन्जा (फ्लू) भाइरसको सङ्क्रमणबाट बच्न विशेष आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो भाइरस जाडोमा धेरै सक्रिय हुने भएकाले शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ।

कसलाई छ बढी जोखिम?

डा. बुढाथोकीले विशेषगरी निम्न समूहका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने बताए।

बालबालिका

ज्येष्ठ नागरिक

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस

फ्लू लागेका अधिकांश व्यक्तिहरूलाई सामान्य हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपरे पनि, दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका लाई यसले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ।

फ्लू सर्ने तरिकाहरू

फ्लू संक्रमित व्यक्तिबाट अन्यमा सजिलै सर्न सक्छ। सङ्क्रमण सर्ने मुख्य तरिकाहरू यस्ता छन्(

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। यी छिटा सासबाट फोक्सोसम्म पनि पुग्न सक्छन्।

भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।

इन्फ्लुएन्जाका मुख्य लक्षणहरू

ज्वरो आउनु

टाउको दुख्नु

खोकी लाग्नु र घाँटी दुख्नु

नाक बन्द हुनु वा सिँगान बग्नु

जिउ र मांसपेशी दुख्नु

अत्यधिक थकान महसुस हुनु

जोगिने सरल उपायहरू

स्वास्थ्य मन्त्रालयले फ्लूको सङ्क्रमणबाट बच्नका लागि निम्न सावधानीहरू अपनाउन आग्रह गरेको छ–

बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने।

खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने। बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।

आफ्नो आँखा, नाक वा मुख नछुने।

शारीरिक रूपमा सक्रिय हुने, प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने।

सम्भव भएसम्म बिरामी हुँदा घरमै आराम गरेर बस्ने।

यी सामान्य सावधानीहरू अपनाएर जाडो महिनामा फ्लूको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *