‘अभिमन्यु’ नेपाली र हिन्दीमा एकसाथ

काठमाडौं । प्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ। लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको यो सिनेमा अन्ततः रिलिज हुन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ।

यस चलचित्रमार्फत अभिनेता कामेश्वर चौरसियाले दुई दशक लामो करियरमा पहिलोपटक सोलो लिडको अवसर पाएका छन्। यसैगरी, अभिनेत्री लक्ष्मी बर्देवाको सोलो लिड रहेको रिलिज हुने पनि यो पहिलो चलचित्र हो। यी दुई अनुभवी कलाकारको नेतृत्व क्षमता हेर्न यो सिनेमा महत्त्वपूर्ण छ।

‘अभिमन्यु’ सुपरहिट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले बनाएको दोस्रो चलचित्र हो। ४७ करोड ग्रस कलेक्सन गरी रेकर्ड बनाएका निर्माताको दोस्रो प्रोजेक्ट कस्तो होला भन्ने जान्न पनि दर्शक हलसम्म पुग्ने अपेक्षा छ।

निर्माता पौडेलले यसपटक पनि ‘पूर्ण बहादुरको सारङ्गी’मा झैँ अरू कसैले मुख्य भूमिकामा नलिएका कलाकारलाई लिएर चलचित्र बनाएका छन्। उनले किन फेरि जोखिम मोले र यस चलचित्रमा के विशेष छ भन्ने जान्न पनि दर्शक उत्सुक छन्।

चलचित्रमा मधेशी मूलका अभिनेतालाई मुख्य भूमिकामा राखिएको छ भने एक भोजपुरी फ्लेभरको गीत पनि समावेश छ। यो चलचित्रले मधेशको कथा र परिवेशलाई कति न्याय गरेको छ भन्ने बुझ्न पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ।

‘सेभेन सिज सिनेमा’ को प्रस्तुति रहेको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ लगायतका कलाकारहरूको मुख्य भूमिका छ। सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन्। यो सिनेमा नेपालसँगै भारत र विश्वव्यापी रूपमा पनि प्रदर्शन गरिँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *