७२ वर्ष पुरानो ‘ऐतिहासिक मार्ग’ बाट सगरमाथा आरोहण गरिने

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि खुम्बु आइसफलभन्दा सुरक्षित मानिएको पुरानो ऐतिहासिक मार्ग आगामी वसन्तयाम (फागुन-चैत) भित्रमा सञ्चालन हुने भएको छ। करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो बाटो सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक प्रयोग गरेका थिए।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार खुम्बु आइसफलको बाटोभन्दा यो नुप्से हिमालतर्फको वैकल्पिक मार्ग सुरक्षित र भरपर्दो छ। खुम्बु आइसफलको बाटो सन् १९८४ मा खुलेपछि परम्परागत मार्ग उपयोगविहीन भएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ आङ्छिरिङ शेर्पाले बताए। उनले भने, “खुम्बु आइसफलको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ। नयाँ मार्गले आइसफलको खतरा घटाउँछ र आरोहण अझ सुरक्षित बन्नेछ।”

ऐतिहासिक बाटोको पुनः सञ्चालन

यो ऐतिहासिक मार्गको खोजी, अनुसन्धान तथा पुनः सञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका मार्क वटाई र एन्ट्वान एरोडलाई जिम्मा दिइएको छ। निर्देशक गौतमका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुने गरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

बाँकी २० प्रतिशत कार्य पूरा गरी चैतभित्र सञ्चालन गर्ने तयारी भइरहेको गौतमले बताए। “नेपालका काजी शेर्पा र फ्रान्सका मार्क वटाईको टोली सक्रिय छ, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ,” उनले भने, यद्यपि यसमा सरकारको आर्थिक लगानी भने छैन। फ्रान्सस्थित विभिन्न पर्वतारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको हो।

सगरमाथा आरोहणमा पहिलो जोखिम खुम्बु आइसफलमा नै हुने गरेको सगरमाथा आरोही विजय घिमिरेले बताए। उनले नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने नयाँ मार्ग अत्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने विश्वास व्यक्त गरे।

गौरव र पहिचानको पुनर्जन्म

खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले तीन वर्षअघिदेखि सक्रिय यस परियोजनामा स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाता र नेपाल सरकार सबैको सहकार्य जोडिएको बताए। उनले भने, “यो केवल हिमाल आरोहणको बाटो होइन। यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो।”

सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको छ। विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ। क्याम्प एकभन्दा माथि जाने बाटो भने अहिले सञ्चालनमा रहेको एउटै मार्ग हुने विभागले स्पष्ट पारेको छ।

यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडिएको विज्ञहरूको भनाइ छ। फ्रान्सका एन्तोनियो इरोडले अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेको र बाँकी ५० वटाको काम आगामी वसन्तयामभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

यो मार्ग पूर्ण रूपमा तयार गर्न करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ, जसमध्ये तीन लाख डलर खर्च भइसकेको र बाँकी रकम दाताहरूले सङ्कलन गरिरहेको काजी शेर्पाले जानकारी दिए।

पर्यटन र सुरक्षामा सकारात्मक प्रभाव

नयाँ बाटो खुल्दा आरोहण यामका बेला आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषण कम गर्न सकिने विभागको विश्वास छ। साथै, खुम्बु आइसफलको जोखिमका कारण नेपाल बाहिरका अन्य हिमाल रोज्ने आरोहीहरूलाई नयाँ मार्गले नेपालतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ,” भने। यो मार्ग सञ्चालनमा आउँदा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने र सगरमाथा आरोहण अझ सुरक्षित हुने विश्वास गरिएको छ। (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *