‘वरिष्ठ बलराम’मा दयाहाङको फरक ‘लुक्स’
काठमाडौं। अभिनेता दयाहाङ राई चलचित्र ‘वरिष्ठ बलराम’मा आफ्नो पुरानो पहिचानभन्दा केही फरक अवतारमा देखिएका छन्। सधैँ गाउँले वा गरिब चरित्रमा देखिने दयाहाङ यो चलचित्रमा टाई, सुट र कोटमा सजिएका एक ‘उच्च सामाजिक छवि’ का पात्रका रूपमा प्रस्तुत भएका छन्।
उनको यो नयाँ र सभ्रान्त ‘गेटअप’ लाई दर्शकहरूले निकै रुचाएका छन्। ‘वरिष्ठ बलराम’मा उनी प्रहरी प्रशासनदेखि राजनीतिक वृत्तसम्म मानमनितो पाउने व्यक्तित्वको भूमिकामा छन्।
अभिनय कलाले सधैँ दर्शकको मन जित्दै आएका दयाहाङको यो सहरिया र हुनेखाने हुलिया पनि रुचाइएपछि अब निर्माताहरूले उनलाई टाइपकास्ट (एउटै प्रकारको भूमिकामा सीमित) बाट बचाउँदै यस्ता फरक भूमिकामा पनि लिन सक्ने सम्भावना बढेको छ।
कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले सकारात्मक ‘वर्ड अफ माउथ’ सहित चलिरहेको छ। दर्शकहरूले चलचित्रको रगतको नातासँगै भावनाको नाता पनि बलियो हुने विषयवस्तु र स्थानीय स्रोतको दोहन को कथालाई मन पराएका छन्।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राईसँगै विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी लगायतका कलाकारहरूको अभिनय छ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्।
