पोसिलो आलु र गुनिलो मुला

क्यानाडाका एक जोडी प्रेमी विद्यार्थी २०४३ सालको चैततिर ताप्लेजुङको पाथीभरा जाने भनेर इलाम आइपुगेका थिए। उनीहरूसँग समय भने मात्र पाँच दिनको रहेछ। छैटौँ दिन विराटनगर पुगेर काठमाडौँ फर्किनु पर्ने। एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत मेरा एक मित्रले तिनीहरूलाई पथप्रदर्शन गरिदिने जिम्मा मलाई सुम्पेका थिए।

उसबेला पाथीभरा जान हिजोआज जस्तो यातायातको सुविधा थिएन। त्यसैले इलामबाट पाँच दिनमा त्यहाँ पुगेर फर्की आउने सम्भावना थिएन। मैले तिनीहरूलाई पाथीभरा जानुको उद्देश्य सोधें। मुख्यतः पहाडमा पैदल यात्रा गर्ने र हिमाल हेर्ने भन्ने उनीहरूको चाहना रहेछ। पाथीभराका लागि पाँच दिनको समय एकदम कम भएको सम्झाउँदै मैले तिनीहरू समक्ष विकल्प पेस गरें- इलामको उत्तरी क्षेत्रको महाभारत पर्वतशिखरतिरबाट नेपाल, भारतदेखि भुटानसम्मका हिमालय पर्वत शृङ्खलाको राम्ररी अवलोकन गर्न सकिन्छ। पाथीभरा गएजस्तै पहाडी भूभागको पैदलयात्रा पनि हुन्छ। रैथाने संस्कृति र जीवनशैली देख्न/बुझ्न पनि पाइन्छ। उनीहरूले मेरो कुरा सुने। हामी त्यतै जाने भयौँ।

इलाम बजारबाट बिहान गाडीमा माइपोखरीसम्म गएर माईमझुवातर्फ लाग्यौँ पैदल। चियाबारी, कुनै-कुनै रूखमा झपक्क फुलेका सुनाखरीले सजिएको उत्तिसघारी र त्यसभित्रको अलैँचीबारीको हरियालीमा रम्दै दम्साइलो सडक पछ्याउँदा ती विकासे मुलुकका तन्देरीले खूब रमाइलो माने। माईमझुवाको बुधबारे पुगेर त्यहाँ एउटा परिचित घरमा खाना बनाउन मागें। भोक निकै लागेको थियो, पहिले अलिकति आलु उसिदिन पनि भनें। केही बेरमा आलु आइपुग्यो एक-एक थालका दरले, साथमा टिमुर र चिङफिङ मिसाएर पिसेको नुन-खुर्सानी। ती जोडीलाई एक थाल दिएर अर्को थाल मैले राखें र तेस्रो चाहिँ फिर्ता गर्दै भनें, “यो त धेरै हुन्छ, भात पनि त खानु पर्‍यो।” त्यहाँको अर्ग्यानिक (वा जैविक) बिटे आलु खूब स्वादिलो हुन्छ। मीठो मानेर खाए ती जोडीले पनि।

आलु खाइसकेपछि केटो चाहिँले भन्यो, “अब बाटो लाग्ने होइन?” “अनि खाना नखाने?” मैले भनें। छक्क परे जसरी ती दुईले मुखा-मुख गरे अनि केटी चाहिँले भनी, “अहिले खाएको के हो नि?” मैले तिनीहरूलाई सम्झाएँ- “त्यो आलु त भोक मार्न खाएको, मुख्य खाना त तयार हुँदैछ।” “हामीलाई त यसरी आलु खाएपछि छाक टर्छ,” तिनीहरूले भने। मैले भनें, “पुगीसरी आएका ठाउँमा हामी त बिहान-बेलुकै भात खान्छौँ। यता लेकतिर अन्न कम र आलु प्रशस्त हुने भएकाले गरिब-गुरुवाले आलुले पनि छाक टार्छन्।” मेरो कुरा सुनेर ती छक्क परे। तिनकै भाषामा के-के भने, मैले बुझ्ने कुरै भएन।

त्यहाँको गाईभैँसीको गोठ, भेडाबाख्राको खोर, डोको, घुम, ढिकी-जाँतो, राडी बुन्ने तान, लुकुनी (भेडाको ऊनबाट तयार गरिएको लामो कोट जसले साधारण झरीसमेत छेक्छ) जस्ता चिज देखाउँदै तिनीहरूलाई अलमल्याउन थालें। त्यहाँको प्राकृतिक वातावरण तिनीहरूले खूब मन पराए। तिनीहरूलाई हेर्न आएका पाँच/सात केटाकेटीले पनि खूब रमाइलो माने। घरबेटी गुरुङनी दिदीले लगाएको झुम्के बुलाकी तिनीहरूलाई गजब लागेछ, मैले ती दिदीसँग तिनीहरूका लागि फोटोको एक पोज मागिदिएँ।

खाना तयार भयो। मकै र धानको चामल मिसाएर पकाएको भात, चिङफिङले झानिएको लेकाली सिमीको दाल, लपक्क भएर पाकेको रायोको साग, तारेको आलु, रूखटमाटरको अचार र सलादको रूपमा रसिलो, गुलियो मुला। मलाई त चौरासी व्यञ्जन नै भयो, तिनीहरूले पनि स्वाद मानेर खाए। मोही भने मैले मात्र खाएँ। धारामा थापेको पानी सिधै हालेर पारेको मोहीले तिनीहरूलाई बिरामी पार्छ कि भनेर ती दुईलाई चाहिँ मोही खान दिइनँ। तिनीहरूले सबैभन्दा बढी त मुला नै खाए होला। साँच्चै रसिलो, लस्याइलो र गुलियो थियो मुला। बास्नाले मात्रै मुलै हो भनेर छुट्टिने, अन्यथा अर्थोकै फलफूल हो कि भन्नुजस्तो। मुलाका चाना एक-आपसलाई देखाउँदै ती केटाकेटीले पनि के-के भन्दै थिए तिनकै भाषामा।

हिँड्न लाग्दा गुरुङनी दिदीले अघि मैले फर्काएको आलुमा अझै अरू थपेर एक पोको बाटोको खाजा हुन्छ भन्दै मेरो हातमा थमाइदिइन्। त्यस पोकालाई रकस्याक (झोला) भित्र सिरानमा राख्दै उनलाई सोधें, “अघिको नुन-खुर्सानी पनि लगाइदिनु भएको छ?”। सकारात्मक भावमा उनले मन्टो हल्लाइन्। मैले “हस् त” भन्दै बिदा माग्ने हात जोडें। केटाकेटी अघि लागे। मैले तिनीहरूलाई बिहानै भनेको थिएँ- “तिमीहरू अघि-अघि हिँड्नु, म पछ्याउँछु। त्यसो गर्दा तिमीहरूलाई गाह्रो/कष्ट पर्दैन।”

मनमनमा आफैँसँग भन्दै थिएँ, रात/साँझपख सन्दकपुर पुगिएला। सकिएन भने गोठतिर बसौँला। खानलाई आलु भइगयो। भुङ्ग्रामा सेकाएको आलु झन् मीठो हुन्छ। त्यसपछि स्लिपिङ ब्यागमा पोको परौँला। धन्न ती दिदीले आलु दिएछन्। आजलाई आलु भरोसा! जय होस् आलुको!

के मधेस के पहाड, के गाउँ के सहर, कुन धनी कुन गरिब, के हिउँद के वर्षा हाम्रातिर आलु घर-घरको सदाबहार तरकारी हो। जति र जसरी खाए पनि आलुले नाक लाग्यो भनेको सुनिँदैन। बरु, तरकारीको दु:ख बखान्न यसो भन्ने गरेको सुनेको छु- “हामी त छाकैपिच्छे तरकारी फेर्छौं, बिहान आलु र प्याज- बेलुका प्याज र आलु!” आलुलाई उसिनेर खाजाको रूपमा खाने चलन पनि सबैतिर छ। आलुदम भन्नासाथ मुख मिठ्याउनेमा सायद तपाईं पनि पर्नुहुन्छ होला कि! खासगरी मधेसतिर त अचारसमेत आलुको बनाउँछन्। उसिनेको आलु मिचेर प्याज र हरियो खुर्सानीका मसिना टुक्रा, नुन, तुरुक्क तेल र भेटेसम्म कागतीको दुई/चार थोपा रस लगाएर मोलेपछि एक-नम्बरी अचार। त्यसलाई कतै-कतै चोखा भनिँदो रहेछ।

उहिले हाम्रो गाउँ, इलाम सदरमुकामबाट पश्चिमतिर पुवाखोला पारि, निन्दाखुमा आलुको खेती गर्ने चलन थिएन। हाम्रो गाउँमा मात्रै होइन यस्ता बेँसी खण्डमा आलु फल्दैन भनेर लगाउने चलन नै थिएन। भदौमा थुन्सेमा अलौटा मकै बोकेर अलिक माथि लेकाली हाट जीतपुरतिर गएर आलु साटेर ल्याउने चलन थियो। सटही दर बराबर अर्थात् भरेर मकै जति छ त्यति नै आलु। त्यसैले हाम्रा गाउँतिर आलु निकै चिज हुन्थ्यो। म पनि गएको छु एक-दुई पटक आलु साट्न ठूला-बडाको साथ लागेर।

संसारमा मानिसले आलुको खेती थालेको १० हजार वर्षभन्दा बढी भएको मानिन्छ। यसको सुरुवात दक्षिण अमेरिका- पेरु, बोलिभियातिरबाट भएको हो रे। पोर्चुगाली, स्पेनी जस्ता युरोपेली उपनिवेशकर्ताले यसलाई पन्ध्रौँ शताब्दीतिर यता एसियामा ल्याएको भन्छन्। यहाँबाटै आलु अझ पूर्व चीन, जापानतिर गएको मानिन्छ।

आलुमा सबैभन्दा बढी कार्बोहाइड्रेट पाइन्छ जुन मानिसको शरीरका लागि आवश्यक शक्तिको स्रोत हो। त्यसपछि फाइबर, प्रोटिन, भिटामिन सी, भिटामिन बी६, पोटासियम, आइरन, म्याग्नेसियम, फोलेट आदि पौष्टिक तत्त्वहरू पाइन्छन्। प्राकृतिक रूपमा आलु फ्याट र कोलेस्ट्रोलरहित हुन्छ र यसमा सोडियम कम मात्रामा पाइन्छ। नुनसमेत राखेर भुटुनमा तारेपछि भने उपर्युक्त तत्त्वहरू निकै नष्ट हुन्छन्। आलुको गुण भन्नुहोस् या विशेषता यसलाई जुनसुकै तरकारीसँग मिसाएर बनाउन सकिन्छ। सिमीसँग होस् या भन्टासँग, सागसँग होस् या सजीवनसँग यो मितेरी लगाएझैँ मिल्न पुग्छ।

अझ रमाइलो त के छ भने आलुको परिकार कति बन्छ भनेर साध्य छैन। यसलाई भुटेर खाए पनि हुन्छ, रसिलो बनाएर पनि। बोक्रैसँग पकाए पनि हुन्छ, तासेर पनि। गाउँघरमा यसको मसेउरा बनाउने चलन पुरानै हो। सहर-बजारतिर थरी-थरीका चिप्स आलुबाटै बनेका हुन्छन्। धेरै हावा थोरै चिप्सले भरिएका आकर्षक पोका पान पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म पाइनाले तिनको लोकप्रियता दर्साउँछ। खेती गर्न सजिलो आलु मधुमेह भएका बाहेक सबैले बसेर खाए हुन्छ। आलु बार्नुपर्ने मानिसको उमेर (वय) र अरू बिमार (रोग) छैन। उस्तै पर्दा दाल बनाउँदा पनि हुन्छ आलुको।

त्यति मात्रै कहाँ हो र, जुनसुकै व्रत बसेका बेला फलाहारका रूपमा आलु चल्छ। जुठो परेका बेला होस् या कोरा पसेका बेला आलु खानमा कुनै बन्देज छैन। खेताला-गोठालादेखि मित-मितिनी, सम्धी-सम्धिनीसम्मलाई समान रूपमा आलु पस्किन सकिन्छ। त्यसैले आलुलाई समाजवादी खाद्यको पगरी गुथाइदिए अन्यथा हुँदैन।

आलुको उपलब्धता हाम्रातिर मात्रै होइन, यसको भौतिक उपस्थिति वैश्विक छ। आलुका जात पनि अनगिन्ती छन्। माटो, तापक्रम, हावापानी अनुसार आलुका जातमा विविधता हुने नै भयो, त्यस्तै रूप, रङ्ग र आकारमा पनि। आलुका परिकारको गणना गरेर साध्य छैन— देश, समाज, संस्कृति र रुचि अनुसार यसलाई विभिन्न स्वरूप र परिकारमा पस्किने गरिन्छ। ए, झन्डै छुटाएछु- इलामको लेकाली भेगतिर पाइने झ्याले आलु त जसले खान भेट्यो त्यसले मात्रै त्यसको महिमा जान्दछ। मेसो (वा मसला) मिसाएर बनाएको रससहितको झ्याले आलुको तरकारीसँग जस्तैले पनि साविकभन्दा दुई/चार गाँस बढी नै भात भ्याउँछन्।

आलु जस्तै बहुपरिकारवाला तरकारी हो मुला। आलुभन्दा बढेर मुला त काँचै पनि खाइन्छ। तरकारीका रूपमा मुला मात्रै वा अन्य तरकारी मिसाएर बनाउन सकिन्छ। मासुमा, अझ कुखुराको मासुमा चाहिँ, मुला मिसाउँदा साह्रै स्वादिलो हुन्छ भन्ने पारखी बाक्लै भेटिन्छन्। यसको अचार त भनेसम्मको हुन्छ- आलै अवस्थामा कोरेर होस् या चाना बनाएर बट्टामा राखेर। सिन्कीको त कुरा नगरौँ, जिब्रो रसाउँछ। हिमाल, पहाड, मधेस सर्वत्र हुने मुला साँच्चै लोकप्रिय तरकारी हो। मुलाको साग सर्वत्र खाइन्छ। हाम्रातिर भुटेको मकैसँग मुलाको साग खाइन्थ्यो दिउँसो खाजामा। फलेपछि यसका कोसामा भरिने दाना वा बीउको अचार उस्तै चखिलो!

मुलाको खेतीको सुरुआत भने दक्षिण-पूर्वी एसिया अर्थात् थाइल्यान्ड, म्यान्मारतिरबाट २५ सय वर्ष पहिलेदेखि हुँदै आएको मानिन्छ। यतैबाट सात समुद्र तरेर अमेरिकातिर मुला पुग्दा डीभी र क्वारेन्टाइनको त सोच पनि जन्मिएको थिएन होला। आलु जस्तै मुलाका पनि धेरै जातहरू छन्, आकारमा पनि कुनै लामा, कुनै डल्लो, कुनै अण्डाकार, रङ्गमा पनि सेता, गुलाबी, कलेजी आदि।

मुलामा सबैभन्दा बढी भिटामिन सी पाइन्छ। क्यालोरी र कार्बोहाइड्रेट कम मात्रामा हुने मुलामा फाइबर र एन्टिअक्सिडेन्ट पनि हुन्छ। आयुर्वेद अनुसार पाचनक्रियालाई बलियो बनाउने मुलाले कलेजो शुद्धीकरण कार्यमा सघाउनका साथै शरीरलाई ठन्डा राख्न मदत गर्छ। त्यसैले बेलुकीको तरल खाजासँग मुलाको सितन अरू थोकभन्दा स्वास्थ्यवर्धक हुन्छ भने अन्यथा नहोला। एकताका सबैका ओठमा झुन्डिएको गीतले त्यसै भन्या होइन- “उही मुलाको सिन्की, उही मुलाको चाना!…”

अँ, मुला खाएपछि आउने डकारको गन्ध भने राम्रो मानिँदैन। त्यसैले उखान छ- “मुला खाई वन पस्नु, अदुवा खाई बैठक बस्नु!”

तर यति उपयोगी आलु र मुलालाई मानिसले अपहेलना गरेको देख्दा साह्रै मन दुखेर आउँछ। जाँचमा पाइने शून्यलाई पनि ‘आलु’ पाएछ रे। परीक्षामा असफल भए पनि आलु खाएछ रे। कसैलाई हियाएर भन्नु पर्‍यो भने ‘त्यो आलुको कुरै नगरौँ’ रे। हुँदाहुँदा मरेछ भन्ने अर्थमा पनि आलु खाएछ भन्नु रे। त्यति उपयोगी आलुलाई बेकामे/काम नलाग्नेको प्रतीक/विम्ब किन बनाएको होला? मानवोचित कुरा हो त यो?

मुलाका बारेमा उस्तै। कसैलाई हेपेर भन्नु पर्‍यो भने- ‘तँ मुला’ रे। ‘त्यो मुला के जान्दछ’ रे। ‘त्यस्ता मुला गीत’ रे। होइन, के बिगारिदिएको छ मुलाले मान्छेको? त्यति गुणकारी मुलामाथि कति बैगुनी भएका हौ यी मानिसहरू?

मेरो अपील छः गणतन्त्र नेपालमा अबउप्रान्त आलु र मुलालाई यसरी हियाउने काम बन्द गरिनुपर्छ। तिनीहरूलाई समाजमा उच्च स्थान दिनुपर्छ। राम्रा, सज्जन, असल मानिस; गुणकारी, लाभदायी, बहुपयोगी वस्तुको प्रतीक/विम्ब बनाउनुपर्छ तिनीहरूलाई। कसैलाई ‘तपाईं जस्ता आलु/मुला मानिससँग भेटेर खुसी लाग्यो’ भन्दा उनी प्रसन्न होऊन्, मख्ख/मखलेल बनून्। अतः मेरो यो ‘आलु प्रस्ताव’ मा तपाईंको ‘मुला समर्थन’ को अपेक्षाका साथ बिदा माग्छु। जय आलु, जय मुला!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *