वडा कार्यालयदेखि कोइराला निवाससम्म जल्दा…
विराटनगर। जेनजी समूहको आन्दोलनका क्रममा केही अराजक समहूहरूले गरेको तोडफोड र आगजनीले विराटनगरमा ठूलो भौतिक क्षति भएको छ। कोशी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार विभिन्न ४२ वटा भवन क्षतिग्रस्त बनेको छ।
तीमध्ये प्रदेश सरकारको १८ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। २४ वटा भवनमा आंशिक क्षति पुगेको छ। सरकार र उ मातहत निकायका ६४ वटा चार पांग्रे गाडी पूर्ण रुपमा जलेका छन्। १२ वटा चार पांग्रे सवारीमा आंशिक क्षति पुगेको छ।
यसैगरी, कर्मचारीले प्रयोग गर्ने १४४ वटा मोटरसाइकल र स्कुटर जलेका छन्। १७ वटामा आंशिक क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मुख्यमन्त्री कार्यालयका ९ वटा सवारी जलेको छ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। उद्योग कृषि तथा सहकारी मन्त्रालयका ५ वटा भवनमा आंशिक क्षति भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा भवन क्षतिग्रस्त भएको छ।
सामाजिक विकास मन्त्रालयको २ वटा भवनमा पूर्ण क्षति भएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २ वटा भवनमा क्षति पुगेको छ। यसैगरी, कोशी प्रदेशसभा सचिवालयको ४ वटा भवन जलेका छन्।
यसबाहेक विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केट पनि आगजनीबाट ध्वस्त बनेको छ। वडा कार्यालयहरू, महानगरपालिकाको कार्यालय, विभिन्न दलका केही नेताको घरमा पनि तोडफोड भएको छ।
१० जनाको ज्यान गयो
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्। झडप र आगजनीमा परेर उनीहरूको मृत्यु भएको हो। तीमध्ये ५ जनाको पहिचान खुल्न बाँकी छ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृत्यु हुनेमा झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको छन्।
यस्तै, सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदारको मृत्यु भएको हो। प्रहरीका अनुसार शवहरु पोस्टमार्टम गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
झडपका क्रममा कोशी प्रदेशभर ११४ जना प्रहरी घाइते भएको एसएसपी पोखरेलले बताए। प्रहरीका अनुसार आन्दोलनका क्रममा आगजनी गरेर प्रदेशभरका विभिन्न सरकारी कार्यालयमा व्यापक क्षति पुर्याइएको छ।
खण्डहर बन्यो कोइराला निवास
अराजक समूहको निसानामा विराटनगरको ऐतिहासिक कोइराला निवास पर्यो। नेपालको महत्वपूर्ण राजनीतिक धरोहरका रूपमा रहेको कोइराला निवास आगजनीमा परी खण्डहरजस्तै बनेको छ।
‘पिताजी’ भनेर सम्मान गरिने कृष्णप्रसाद कोइरालाले बनाएको कोइराला निवास एउटा घरमात्र नभएर प्रजातान्त्रिक आन्दोलनको साक्षी थियो। देशलाई ३ जना प्रधानमन्त्री दिने यही निवास थियो। यही घरका अभिभावक कृष्णप्रसादका छोराहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए।
१२० वर्षभन्दा पुरानो उक्त घर राणा शासनविरुद्ध कृष्णप्रसादले बिगुल फुकेयता धेरै राजनीतिक आन्दोलन र पार्टीका महत्वपूर्ण निर्णयहरूको केन्द्र थियो। पहिलेको मूल घर साँघुरो भएपछि २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ दुई वटा कोठा थपेका थिए।
निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला फर्किएपछि २०३४ सालमा पनि उत्तरतर्फ अरू दुई वटा पक्की कोठा थपिएको थियो। त्यसपछि २०५२ सालताका गिरिजाप्रसादले अर्काे कोठा थपेका थिए।
आगजनीमा परी मूल घर खण्डहर भएको छ। पछि थपिएका संरचना भने छन्, तर तिनमा पनि क्षति पुगेको छ।
तस्बिरः विष्णु काफ्ले





