नेपालमा सामाजिक सञ्जाल : के खुल्छ, के बन्द हुन्छ?
काठमाडौं। सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय गरेको छ। यो निर्णयले कुन-कुन प्लेटफर्महरू नेपालमा उपलब्ध हुनेछन् भन्नेबारे चासो बढाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म पाँचवटा सामाजिक सञ्जालहरू सूचीकृत भएका छन्, र ती निर्बाध रूपमा चल्नेछन्। ती हुन्:
टिकटक
भाइबर
निम्बज
वीटक
ओपोलाइभ
यसबाहेक, टेलिग्राम र ग्लोबल लिङ्क पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
सरकारले किन बन्द गर्दैछ?
सर्वोच्च अदालतको आदेशको पालना गर्दै मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत फेसबुक लगायत सूचीकरण नभएका सबै सामाजिक सञ्जालहरूलाई नेपालमा बन्द गर्ने घोषणा गरेको हो।
यसअघि, २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सबै सामाजिक सञ्जालहरूलाई एक हप्ताभित्र दर्ता हुन निर्देशन दिएको थियो। उक्त म्याद सकिएपछि सरकारले यो कदम चालेको हो।
मन्त्रालयले स्पष्ट पारेको छ कि अहिले बन्द गरिएका सञ्जालहरूले भविष्यमा दर्ता प्रक्रिया पूरा गरेमा तिनीहरूलाई पुनः सञ्चालन गर्न दिइनेछ।
अब कुन-कुन सञ्जालहरू बन्द हुनेछन्?
सञ्चार मन्त्रालयमा दर्ता नभएका कारण बन्द हुने प्रमुख सामाजिक सञ्जालहरूको सूची यहाँ दिइएको छ:
फेसबुक
म्यासेन्जर
इन्स्टाग्राम
युट्युब
ह्वाट्सएप
ट्विटर (एक्स)
लिङ्क्डइन
स्न्यापच्याट
रेडिट
डिस्कर्ड
पिन्ट्रेस्ट
सिग्नल
थ्रेड्स
वी च्याट
कोरा
टम्ब्लर
क्लबहाउस
मास्टोडोन
रम्बल
मि वी
भीके
लाइन
इमो
जालो
सोल
हाम्रो पात्रो
मन्त्रालयका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र पत्ता लागेका अन्य कुनै पनि दर्ता नभएका सञ्जालहरूमा पनि यो निर्णय लागू हुनेछ।
