किन फेसबुकले नेपाललाई ‘मनिटाइजेसन’ को योग्य देशमा राख्यो ?

सोच्नुभएको छ? फेसबुक र गुगल विश्वकै ठूला पूँजीवादी उत्पादन हुन्। यी दुवै निःशुल्क छन्। कमाइका हिसाबले गुगल विश्वको दोस्रो ठूलो कम्पनी हो, तर विश्वभर यसको मुख्य उत्पादन प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन।

युट्युब, गुगल म्याप, क्रोम ब्राउजर, गुगल सर्च र जीमेल जस्ता मुख्य उत्पादनहरू अमेरिकी जनतालाई मात्रै नभई विश्वभर बिना कुनै शुल्क चलाउन सकिन्छ र यसले अरबौं मान्छेलाई दैनिक लाभ पुर्‍याइरहेको छ।

इमेल खाता सञ्चालन गर्न, त्यसलाई आक्रमणबाट सुरक्षित गर्न र वर्षौंसम्म डेटा सेन्टरमा स्टोर गर्न ठूलो खर्च लाग्छ। तर त्यो खर्च तपाईंले तिर्न पर्दैन। तपाईंले काठमाडौँको गल्लीमा गुगल म्याप चलाउँदा स्याटेलाइटदेखि भौतिक पूर्वाधार र करोडौँमा तलब बुझ्ने आइटी जनशक्तिको तलब बेहोर्नु पर्दैन।

विश्वकै एक नम्बर सामाजिक सञ्जाल फेसबुकमा संसारभरका पत्रपत्रिका र खबर निःशुल्क छन्। तपाईंका हजारौं फोटो, भिडियो र डेटा त्यहाँ सुरक्षित छन्। यसको वैयक्तिक प्रयोगमा कुनै शुल्क तिर्न पर्दैन। आफ्नै देशको मोबाइल कम्पनीले एक मिनेट कुरा गरेको पैसा लिन्छ, तर फेसबुक मेसेन्जर या ह्वाट्सएपबाट विश्वभर अनलिमिटेड निःशुल्क कुराकानी गर्न सकिन्छ। यो निकै ठूलो सुविधा हो।

फेसबुक या गुगलले गरिबबाट पैसा उठाएर धनीलाई झन् धनी बनाउने पनि होइनन्। तपाईंको सूचना जम्मा गरेर बेचेर खान्छन् भन्ने आरोप त लगाउन सकिन्छ, तर फेसबुकमा मेरो सूचना भनेको उमेर समूह, मेरो रुचि, मेरो लोकेशन र मलाई मन पर्ने सामग्रीहरूबारेको सूचना न हो। यो त मैले आफैँ सेयर गरेको सूचना हो र यो करोडौं मूल्यको पनि होइन। मेरो निजी सूचना कसैले किन्ने पनि होइन। यिनै सूचनाहरूका आधारमा अन्य उत्पादक कम्पनीले के उत्पादन गर्ने र कसलाई बेच्ने भन्ने निर्णय लिन्छन्। फेसबुकका लागि हामी अमूल्य समय दिएर खटिएको तर्क पनि गर्न भ्याउँछन् कसैले। यो खटाइ नितान्त स्वैच्छिक र आफ्नै फाइदाका निम्ति हो।

हामीले कुनै कम्पनी या बिजनेस खोल्यौँ भने कति मार्जिनमा बेच्ने भन्ने सोच हुन्छ। अनौठो त आफ्ना मुख्य उत्पादन यो पृथ्वीमा भएजति मान्छेलाई सित्तैमा बेचेर पनि यिनले खर्बौं कमाउँछन्।

यी कम्पनीले मुट्ठीभरका ठूला–ठूला बिजनेस र कम्पनीबाट पैसा जम्मा गर्छन् र धेरैलाई निःशुल्क सेवा दिन्छन्। ठूलाबाट लिएर सानालाई सुविधा दिनु पूँजीवादप्रतिको मेरो बुझाइको उल्टो हो।

अझ आज आममान्छेलाई समेत विश्वको जुनसुकै कुनामा रहेर पनि कमाउन सक्ने अवसर यिनले दिएका छन्। पत्रिकासम्म पहुँच भएन भने तपाईंले फेसबुकमै लेखेर कमाउन सक्नुहुन्छ। तपाईंको भिडियो कुनै टेलिभिजनले बजाएन भने फेसबुक या युट्युबले बजाइदिन्छन्। अलिकति पनि सिर्जनात्मकता र क्षमता छ भने जीहजुर नगरी फेमस हुन सकिन्छ। नेपालजस्तो देशमा रहेर, आफ्नै रुचि र खुसीको काम गरेर पनि लाखौं रुपियाँ आम्दानी हुन सक्छ। यो आफैँमा ठूलो क्रान्ति हो।

फेसबुक, अमेजन, युट्युब (गुगल) जस्ता कम्पनीले कसैलाई गरिब नबनाई लाखौंलाई मिलियनेयर बनाएका छन्। सेयर किन्ने धनी पनि मिलियनेयर छन्। त्यसलाई प्रयोग गरेर उत्पादन या सिर्जनात्मकता बेच्नेहरू पनि मिलियनेयर छन्। टिकटकबाट लाखौं नयाँ कलाकार जन्मिएका छन्। लाखौंले आफ्नो सानो व्यापार र कमाइको स्रोत पाएका छन्। आज हरेक नेपाली घरबाट एउटा कन्टेन्ट क्रिएटर बन्न र घरमै बसी–बसी डलर कमाउन सम्भव छ। हिमाल र पहाडका भिडियो अपलोड गरेर साउदीभन्दा बढी तलब कमाउन सकिन्छ।

आज सामाजिक सञ्जालकै कारण कति देशले सुशासन पाएका छन्, नयाँ नेतृत्व पाएका छन्। साधनस्रोत नभएका विद्यार्थीले उच्चस्तरको शैक्षिक सामग्री र सूचना पाएका छन्। कति धेरै लुप्तप्राय: संस्कृति र चाडपर्वको पुनरुत्थान भएको छ। कति धेरै परिवार टाढै भएर पनि जोडिएका छन्। कति धेरै मानवीय र सामाजिक सहयोग सम्भव भएको छ। कति धेरै आममान्छेको कमाइको स्रोत पनि बनेको छ।

अझै त युट्युबर भनेर हेप्ने चलन बाँकी छ भने हिजो सूचनामाथि पत्रिका र टेलिभिजनको एकाधिकार भएको बेला हजारौं सिर्जनशील व्यक्तिहरूको अवस्था कस्तो थियो होला?

कुनै पनि कुरा राम्रो मात्रै हुँदैन। पक्कै पनि आज सामाजिक सञ्जाल या यस्ता उत्पादनले ल्याएका थुप्रै विकृति छन्। सामाजिक र कानुनी जटिलता छन्। तर तिनले पुर्‍याइरहेको र पुर्‍याउन सक्ने असीमित आर्थिक-सामाजिक लाभका सन्दर्भमा ती विकृतिलाई जोखेर मात्रै निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ।

नियमनको पहल नै नगरेको भए सायद फेसबुकले नेपाललाई मोनेटाइजेसनको योग्य देशमा राखिहाल्ने थिएन। पहलका निम्ति सरकारलाई धन्यवाद छ। तर सबै कम्पनी र उत्पादनलाई एकै डालोमा राखेर निषेधात्मक कदम नचाल्न र संवादात्मक रूपले फेसबुक या टिकटकबाट लाखौं नेपाली नागरिकले प्राप्त गर्न सक्ने आम्दानी र सामाजिक लाभलाई ध्यानमा राखेर मात्रै कुनै निर्णय गर्न अनुरोध छ।

तपाईंको बुझाइ के छ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *