…जब ‘धन्यवाद’ ले सम्बन्ध चिस्यायो

देशमा ठूला घटना वा परिवर्तनसँगै केही शब्दहरू विशेषरूपले प्रचलनमा आउँदा रहेछन्। वि.सं. २००७ सालको क्रान्तिपछि ‘प्रजातन्त्र’ शब्द बढी चल्यो। त्यति बेला ‘संविधानसभा’ को अर्थमा ‘विधान परिषद्’ र ‘गणतन्त्रात्मक’ जस्ता कतिले सुन्दै नसुनेका शब्द पनि राजा त्रिभुवनको सात गतेको घोषणामा परेका थिए। भनिन्छ, यो अंग्रेजीबाट नेपालीमा रूपान्तरण गर्दा यस्तो भएको थियो।

त्यसपछि, ‘लोकसेवा’, ‘भद्र अवज्ञा’, ‘आमनिर्वाचन’, ‘बहुमत’, ‘दुई तिहाइ’, ‘उन्मूलन’ (बिर्ता), ‘प्रतिपक्ष’ जस्ता शब्दहरू मानिसहरूले बिस्तारै जान्दै गए। राणा शासनमा सामान्य मानिसले यी शब्द कसरी जान्दथे र?

वि.सं. २०१७ सालको घटनापछि ‘अराष्ट्रिय तत्व’ चर्चामा आयो। राजा महेन्द्रले ‘मौसुफ’ चलाउन लगाए। पञ्चायतकालमा ‘वर्ग समन्वय’, ‘भूमिसुधार’, ‘निर्विकल्प’, ‘विकेन्द्रीकरण’, ‘जग्गा विकास कर’ र पञ्चायतको पछिल्लो समयमा ‘मण्डले’ जस्ता शब्दले पनि चर्चा पाए। त्यस्तै, सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’ लाई चलायमान बनाए। यस्ता शब्दलाई कतिले सही अर्थमा र कतिले भिन्न अर्थमा पनि बुझे होलान्।

२०३६ सालमा ‘जनमत संग्रह’, ‘धाँधली’, ‘निष्पक्ष’ जस्ता शब्दको अर्थ सबैजसोले बुझे। त्यसअघि यी शब्द सुनिँदैन थिए भन्दा हुन्छ। २०३७ को जनमत संग्रहपछि त्यस गाउँ पञ्चायतको गाउँसभा मेरो गाउँको प्राथमिक विद्यालयमा भएको थियो। विद्यालयको प्राङ्गण र हाम्रो घरको आँगन जोडिएको हुनाले कस्तो हुँदो रहेछ गाउँसभा भनेर म पनि हेर्न गएँ।

गाउँ पञ्चायतका सचिवले प्रस्तावित वार्षिक बजेट सभामा पढेर सुनाए। आम्दानीको महलमा ‘जग्गा विकास कर’ शीर्षक पनि थियो। पहिले त्यस्तो व्यवस्था थियो, जुन जनतामारा भएकाले जनमत संग्रहका बेला खारेज गरिएको थियो।

त्यसैले मैले जिज्ञासावश प्रश्न राखें, “जग्गा विकास कर त जनमत संग्रहका बेला खारेज भएको थियो। फेरि यो कहिलेदेखि कसरी लागू भयो?”

सचिवले प्रस्ट उत्तर दिन सकेनन्। मैले फेरि प्रश्न गरें, “कहिलेदेखि कसरी लागू भयो भन्ने नै राम्रो जानकारी नभई त्यो शीर्षकमा के हिसाब गरेर त्यति आम्दानी हुने अनुमान गरियो त?”

यसको उत्तर आउने सम्भावना नै थिएन। सभाकक्षमा सन्नाटा छायो। केही पञ्चहरूलाई यो बहुदलले सभा भत्काउने भयो भन्ने लाग्यो होला। प्रमुख अतिथि भएर गएका जिल्ला पञ्चायतका उपसभापति मेरो प्रश्नको उत्तर दिन अघि सरे। उनले भने, “जग्गा विकास करको कुरा श्री ५ महाराजाधिराज सरकारबाट राष्ट्रिय पञ्चायतलाई यसपालि बक्सिएको सन्देश (नीति तथा कार्यक्रम) मा उल्लेख छ।”

राजाको त्यो सन्देश मैले राम्ररी सुनेको थिएँ। मैले भनें, “राजाको सन्देश मैले पनि ध्यान दिएर सुनेको छु, त्यसमा त जग्गा विकास करको कुरै थिएन।”

उनले भने, “सरकारले विकेन्द्रीकरणबारे लामै चर्चा गरिबक्सिएको छ। तपाईंले कसरी सुन्नुभएन?”

मैले भनें, “हो, विकेन्द्रीकरणको कुरा छ तर विकेन्द्रीकरण र जग्गा विकास कर त अलग कुरा हुन् नि।”

यसरी एक-दुई सवाल-जवाफ भएपछि मैले कुरा बुझें- पहिले विकेन्द्रीकरणलाई बल पुऱ्याउन भनेर गाउँ पञ्चायतलाई थप अधिकार दिने नाममा जग्गा विकास कर लगाउन सक्ने अधिकार दिएको रहेछ। त्यसकारण यस पटक पनि राजाले विकेन्द्रीकरणको कुरा गर्दा उनीहरूले जग्गा कर लगाउन पाइने भयो भनेर बुझेका रहेछन्।

मैले विकेन्द्रीकरणको अर्थ र मर्म बुझाइदिँदै भनें, “मैले प्रश्न गर्दा तपाईंहरूले गलत अर्थ लगाउनुभयो होला तर मैले कुरा नबुझेरै प्रश्न गरेको हो। त्यो जग्गा विकास कर लगाउने कार्यक्रम यसपालि छैन। त्यसकारण त्यो शीर्षकलाई प्रस्तावित बजेटबाट हटाउनुहोस्।”

ती सामान्य साक्षर जस्ता पञ्चले विकेन्द्रीकरणलाई राम्ररी नबुझ्नु स्वाभाविक थियो तर पढेलेखेका मानिसले समेत चलनचल्तीका केही सामान्य शब्दलाई भिन्न अर्थमा बुझेको देखिन्छ। चन्द्रगढी जेलमा रहँदाको कुरा हो। आठ-नौ कक्षामा पढ्ने दमकतिरको एक भाइलाई पनि राजकाज मुद्दा लगाएर त्यहाँ राखिएको थियो। उनी पढाइमा मिहिनेती थिए तर उनका अक्षर राम्रा थिएनन्। त्यसैले उनी नोट्स बनाउँथे र त्यसलाई अर्का पढेलेखेका र सुन्दर अक्षर लेख्ने एक नेतालाई मोटो खातामा सारिदिन दिन्थे। ती नेताजी त्यो भाइलाई खुब स्नेह गर्थे।

महिना दिनपछि त्यो मोटो खाता भरियो र नेताजीले त्यो खाता त्यो भाइलाई जिम्मा लगाए। उसले खुसी भएर “धन्यवाद दाइ, धेरै धेरै धन्यवाद” भन्यो। तर त्यस दिनबाट ती नेताजी र त्यो भाइबीच बोलचाल बन्द भएजस्तै भयो। त्यो भाइले बोलाउँदा पनि झर्किन थालेपछि उसले पनि बोलाउन छाड्यो। यो कुरा जेलका हामी २८-३० जना बन्दी सबैलाई थाहा भयो र उनीहरूको सम्बन्ध चिसिएकोमा हामी छक्क पर्यौँ।

एक दिन ती नेताजी र म बसेर गफ गरिरहेका थियौँ, त्यो भाइ पनि हामी छेउ आएर उभियो। नेताजीले मुख बिगारेर गफ रोके। त्यो भाइले कुरा बुझ्यो र हिँड्यो। उनले मलाई सुनाएको वा आफैसँग भनेको हो, फुसफुसाएको स्वरमा भने, “यत्रो फुच्चे छैन हामीलाई ‘धन्यवाद’ भन्छ।”

मलाई उनीहरूको सम्बन्ध चिसिनुको कारण खुले जस्तो लाग्यो र मैले भनें, “तपाईंलाई धन्यवाद भन्यो?”

अनि उनले खुलेर ‘विद्यार्थी भनेर त्यत्रो नोट सारेर दिएको ‘धन्यवाद’ भन्छ’ भनेर व्यङ्ग्यात्मक हाँसो देखाए। बुझ्दै जाँदा उनले ‘धन्यवाद’ लाई ‘स्याबास’ को अर्थमा, अर्थात् सामान्यतः ठूलाले सानालाई फकाउन भन्ने शब्दको अर्थमा लिएका रहेछन्। अनि त रिस उठ्ने नै भयो नि!

यो देखेर मैले पुरानो एउटा प्रसङ्ग सम्झें। इलामको सोक्तिम चिया कमानमा एक जना विदेशी थिए, सायद ब्रिटिस। त्यो कमानमा राम्रो काम गर्ने एक कर्मचारीलाई उनले पदोन्नति गरिदिएछन्। तर भोलिपल्टदेखि ती मानिसलाई उनले मन पराउन छाडेजस्तो देखिन थाल्यो। त्यो वातावरण देखेर कमानका दोस्रो तहका हाकिमले निकै दिन लगाएर बुझ्दा थाहा पाएछन्— त्यस्तो पदोन्नति गरिदिँदा ‘धन्यवाद’ समेत नभनेकामा ती कर्मचारीसँग ती गोराको चित्त दुखेको रहेछ। बिचरा ती कर्मचारीलाई ‘धन्यवाद’ भन्नुपर्छ भन्ने जानकारी थिएन होला।

अर्को एउटा प्रसङ्ग पनि यस्तै छ। म इलाम जेसिसको अध्यक्ष थिएँ। इलाम अस्पताललाई नेपाल जेसिसले एउटा पोर्टेबल एक्स-रे मेसिन दिएको थियो, जुन जर्मन जेसिसका तर्फबाट प्राप्त भएको थियो। एक दिन त्यो मेसिन बिग्रिएको छ भन्ने सुनेपछि जेसिस सचिव मित्रलाई समेत लिएर म अस्पताल गएँ।

त्यति बेला अस्पतालमा एमडी गरेका डाक्टर थिए। उनले मेसिन बिग्रिएको तीन-चार दिन भएको बताए। हाम्रो अर्को प्रश्नको उत्तरमा उनले भने, “कहाँ के बिग्रिएको हो भनेर मैले जान्ने कुरा भएन। यो यसको प्राविधिक अर्थात् इन्जिनियरले जान्ने कुरा हो। यो साइमनको मेसिन हो। यसको एजेन्सी कलकत्तामा छ। यसको मर्मतका लागि त्यहीँबाट मानिस बोलाउनुपर्छ। तर, मेरो अनुमानमा यसमा ठूलो समस्या छैन, यो (नाम सम्झना छैन) जलेको हो जस्तो लाग्छ। त्यसकारण उसलाई खबर गर्दा त्यो पनि जानकारी दिनु राम्रो होला।” उनको कुरामा विमति जनाउने ठाउँ थिएन।

दश मिनेट जति कुराकानी गरेर मैले बिदा हुने विचारले उठ्दै भनें, “हुन्छ डाक्टर सा’ब, हामी आजै कलकत्ता खबर गर्ने प्रयास गर्छौं। धन्यवाद।”

उनले आश्चर्य माने जसरी दुवै हात प्रश्न गरेको भावमा हल्लाउँदै भने, “मैले के गरें र धन्यवाद भन्नुहुन्छ?”

म त अवाक भएँ। साथीले खुसुक्क चिमोटे छेउबाट अनि हात जोड्दै त्यहाँबाट निस्कियौँ। अलिक पर पुगेपछि साथीले भने, “तपाईं पनि मुखैमा झुन्डिए जस्तो ठाउँ-कुठाउँ केही नहेरी ‘धन्यवाद’ भन्नुहुन्छ!”

मैले भनें, “कि मैले ‘धन्यवाद’ भनेको उनले अरू नै केही सुने? कान कम सुन्ने जस्तो त लागेन।”

ठट्टा गर्न माहिर ती मित्रले भने, “होइन, ‘धन्यवाद’ भनेको उनले प्रस्टै सुने तर अर्थ जानेनन्।”

मैले भनें, “कसरी त्यस्तो हुन सक्छ?”

उनको उत्तर थियो, “कसरी अब? सामान्य कुरा हो नि। बिचरालाई घरमा आमा-बुबाले ‘धन्यवाद’ कहिले, कहाँ, कसरी भन्ने भनेर सिकाएनन् होला। स्कुलमा पनि त्यस्तै भयो। त्यसपछि आइएस्सी, एमबीबीएस, एमडीतिर त त्यस्तो कुरा सिकाउने कुरै भएन। आखिर, डाक्टर सा’बका लागि ‘धन्यवाद’ को अर्थ नजान्नु कुन ठूलो कुरा भयो त?”

मैले अलिक अघि सुनेको एउटा ठट्टा सम्झें। एउटा गाउँबाट काठमाडौं पढ्न आएको एक विद्यार्थी आइएको परीक्षा दिएर घर गएको रहेछ। केही समयपछि परीक्षाको परिणाम निस्केको खबर रेडियोबाट सुन्यो। आमा अलिक पर गोठमा काम गर्दै थिइन्। नजिकै गएर भनेछ, “आमा, मेरो त परीक्षाफल निस्केछ। अब पर्सितिर त म हिँड्नुपर्ने भयो काठमाडौं।”

आमाले सोधिन्, “के निस्क्यो अरे?”

“परीक्षाफल।”

“अनि त्यो निस्कँदा किन हिँड्नुपर्‍यो त?”

“अनि अगाडि पढ्न भर्ना लिन फारम भर्नु परेन?”

“अनि अहिले पढेको पास भइस त?”

“भन्दैछु त परीक्षाफल आएछ भनेर?”

“के हो त्यो भनेको?”

“हत्तेरी आमा पनि! पास भएँ भनेको।”

“ए, रिजल्ट आयो?”

“त्यही हो परीक्षाफल भनेको।”

“अनि अघि नेपालीमा रिजल्ट आएछ भन्नु नि, के ‘फल निस्केछ’ भन्छस् त! छोराछोरी पढायो, के भाषा बोल्छन् बोल्छन्, बुझ्नै कठिन!”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *